पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन प्रत्येक वर्ष सार्वजनिक बिदा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन प्रत्येक वर्ष सार्वजनिक बिदा


काठमाडौं । सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्नेगरी फिर्ता लिएको बताइन ।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तातोपानी ४, रिद्धिकोट ३, रुरु क्षेत्र ४ र अपि हिमाल ४ गरी जम्मा ८ वटा स्थानमा औद्योगिक ग्राम स्थापाना गर्न स्वीकृति दिने, बर्ड फ्लु रोगको नियन्त्रणका क्रममा आ.व. २०७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएको वस्तुहरुको लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत प्रदान गर्ने, बिदालाई व्यवस्थित गर्न यस पटक २ वटा बिदा थपेर गत वर्षकै बिदा दिने तर आगामी वर्षका लागि भने बिदा व्यवस्थित गर्न पुनरावलोकन गरी अघि बढ्ने निर्णय भएको पनि बताइन ।

उनका अनुसार सरकारले २०७९ साल फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकाकर परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन जान स्वीकृत दिने, मोरङ जिल्ला साविक लेटाङ गाविस वडा नम्बर १ को ०४१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधवारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने, तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा शाखा कार्यालय, गोरखाका नाममा रहेको जिल्ला गोरखा साविक सिद्धिवास गाविस वडा नम्बर ८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने, ललितपुर जिल्ला साविक लुभु वडा नम्बर ३ कको २/२ रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने, काठमाडौं जिल्ला साविक थानकोट गाविस वडा नम्बर २ काके २३००० रोपनी सरकारी जग्गा चन्द्रागिरी नगरपालिकालाई १५ शैय्याको आधारभुत अस्पताल निर्माण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

उनले भनिन्, ‘प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयबाट पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ संसदमा पेस भएको थियो । त्यसलाई फिर्ता लिएर छिटो भन्दा छिटो फेरि संसदमा पेस गर्नेगरी १० गते संसदमा पेस गर्नेगरी तयारी गरेर पेस गर्नेगरी फिर्ता लिने निर्णय भएको छ ।’

सार्वजनिक विदा दिने विषयमा सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन प्रत्येक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पृथ्वी जयन्तीका लागि पुस २७ गते र जनयुद्ध दिवसका लागि फागुन १ गतेको बिदा सरकारको वार्षिक क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको हो । यसो हुँदा २०८० सालदेखि दुई वटा बिदा थपिएको हो ।