बेचैन अवस्थामा एनआरएनए - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

बेचैन अवस्थामा एनआरएनए


काठमाडौं । तत्कालीन गृहमन्त्री एवम सांसद रवि लामिछानेको नागरिकता प्रकरणले गैर आवसीय नेपाली नागरिकहरुमाझ नयाँ बहसले स्थान पाएको छ । विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः निष्कृय हुने अर्थात नेपाली मुलका विदेशीको निष्कृय रहेको नेपाली नागरिकता नेपालमा कुनै पनि कानूनी प्रयोजन नहुने भनेपछि एनआरएनए अभियन्ताहरुले यसलाई बहसको विषय बनाएका छन् ।

गैर आवासीय नेपाली संघ अमेरिका र गैरआवासीय नेपाली संघ क्यानडाले आइतबार संयुक्तरुपमा आयोजना गरेको भर्चुएल अन्तरक्रियामा सबैजसो अभियन्ताहरुले नागरिकताको विषय उठाएका थिए । उनीहरुले रवि प्रकरण र सर्वोच्चको फैसलाले विदेशी नागरिकता लिएका नेपालीमा बढी डर, चिन्ता र चासो बढेको प्रतिक्रिया दिएका थिए । नागरिकता विधेयक पास नभइरहेको परिप्रेक्ष्यमा अभियन्ताहरु शंसकित देखिएका थिए ।

तर अन्तरक्रियाका प्रमुख बक्ताका रुपमा रहेका नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्ति सुरक्षित रहेको नयाँ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा ६ महिनाभित्र १२ वटा ऐन बनाउने कुरा रहेको र यसमा नागरिकता साथैगैरआवासीय नेपालीको विषय सम्बोधन हुने उल्लेख गरेका थिए ।।

उनले अब विधेयक अघि बढ्ने, संसदमा पुगेपछि घनिभूत छलफल हुने भन्दै आश्वस्त पार्ने प्रयास गरेका थिए । संविधानको स्प्रिट अनुसार गैर आवासीय नेपालीहरुले आफ्नो अधिकार निर्वाधरुपमा प्रयोग गर्न पाउने र नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

वरिष्ठ अधिवक्ता प्रा गान्धी पन्डितले रवि लामिछानेको नागरिकता प्रकरणले संशय उत्पन्न भएको बताए। ‘उहाँले अमेरिकाको लिएकाले नेपाली नागरिकता कायम रहेन । खारेज भएको होइन । उहाँ नेपाल आएपछि अमेरिकी पासपोर्ट त्याग्नु भयो । त्यो त्याग गरेको सूचना जिल्ला प्रशासन कार्यालयमा जानकारी नगराएकाले उहाँको विपक्षमा फैसला आएको हो,’ पण्डितले भने।

नागरिकता ऐनमा विदेशी नागरिकता प्राप्त गरेको खण्डमा नेपाली नागरिकता कायम हुने छैन भन्ने लेखेको छ । नेपाली नागरिकता छाडेर विदेशको नागरिकता लिएपछि उनीहरुको नेपालको सम्पत्ति के हुने भन्ने प्रश्न पनि गर्ने गरिन्छ । गैर आवासीय नेपालीले सम्पत्ति किन्न पनि सक्छन र पैतृक सम्पत्ति बेच्न पनि सक्छन् । त्यसरी बेचेको सम्पत्ति डलरमा परिवर्तन गरेर विदेश लैजान भने बन्देज लगाएको छ । एनआरएनको हिसावले गरेको लगानीबाट प्राप्त मुनाफा भने लैजान पाउनुहुन्छ । एनआरएनएहरुले नेपाल आउँदा, प्लेन चढ्दा र जग्गा पास गर्दा नेपालको नागरिकता प्रयोग गर्ने गरेको पनि देखिएको छ । यसले समस्या पार्छ,’ पण्डितले भने।

गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले अहिले विदेशमा बस्ने नेपालीहरु झस्किएको र तर्सिएको अवस्थामा रहेको बताइन्। ‘संविधान अनुसार राजनीतिक अधिकार बाहेक अन्य सुविधाहरुको कुराहरु प्रयोग गर्दा परिचय पत्रले प्रष्ट पार्नु पर्छ । अंश र अपुतालि सुरक्षित गरेको कुरा पनि छ, तर यहाँ प्रष्ट छैन । धेरै नेताहरुले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्नुस् भनेर मिठा कुराहरु गर्नुहुन्छ । यसमा अब हाम्रो लगानी र सम्पत्ति कसरी जोगिन्छ त ? यो पनि गम्भीर प्रश्न छ । गैर आवासीय नेपालीको नागरिकताको कुरा हाम्रै पालामै सम्भव छ । बंशजको आधारमा नागरिकता निरन्तरता भयो भने यसले पक्कै नेपालीहरुको भलो गर्छ,’ थापाले भनिन्।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकता सँगै एनआरएनए एक्ट पनि संगसँगै आउनु पर्ने बताए । संघका महासचिव डा हेमराज शर्माले गैरआवासीय नेपालीहरु ८ प्रकारका रहेको बताए । दोहोरो नागरिकता प्रयोग नहुने देशमा रहेका एनआरएनएलाई अप्ठेरो हुन्थ्यो । पहिला राजनीतिक अधिकार नपाउने भनिएको थियो, अहिले प्रशासनिक अधिकार पनि नपाउने भन्ने कुरा छ । तर अहिले विदेशमा बसेर नेपालमा गएर काम गर्न नपाउने हो कि आर्थिक आवश्यकताका लागि मात्रै एनआरएनलाई प्रयोग गर्न खोजिएको हो ?’ उनले प्रश्न गरे।

एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले नागरिकताको सवाल अहिले पेचिलो बनेको बताए । कार्यक्रममा रविको मुद्दापछि अरू देशको पासपोर्ट बोकेका नेपाली मुलका विदेशीले निष्कृय रहेको नेपाली नागरिकता देखाएर नेपालको आन्तरिक हवाइ टिकट काट्न डराउनुपर्ने, नेपाली नागरिकता देखाएर बैंकमा खाता खोल्ने, घर जग्गा, शेयर किनबेच गर्न हच्किनुपर्ने अवस्था आएको प्रतिक्रिया दिएका थिए । उनीहरुले नागरिकता विधेयक अघि बढाउन दबाब दिएका थिए ।

"