माओवादी घटकहरु एकताको प्रयासमा - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

माओवादी घटकहरु एकताको प्रयासमा


काठमाडौं । वि.स.२०५१ सालपछि जनयुद्ध शुरु गर्दाका सहयात्री नेता यतिबेला छिन्नभिन्नको अवस्थामा छन् । तत्कालीन माओवादीको नेतृत्व अहिलेपनि पुष्पकमल दाहाल प्रचण्डले नै गरिरहेका छन् । उनीसँगै रहेका सहकर्मीहरु धेरैजना अलग भइसकेका छन् । २०६४ को निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्र अहिले स–सना टुक्रामा विभाजित छ । डा.बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेल, नेत्रविक्रम चन्द, गोपाल किराँती लगायतले स–सना पार्टीको नेतृत्व गरिरहेका छन् ।

तर तत्कालीन नेकपा (माओवादी)का नेताहरु एकजुट हुनुपर्ने आवाज पुनःउठाउन थालेका छन् । त्यो कति संभव छ समयले निर्धारण गर्छ । यद्यपी, शान्तिपूर्ण राजनीतिमा आएपछि फुट र विभाजनमा पुगेका उनीहरु एकता हुनुपर्नेमा जोड दिन थालेका छन् । पूर्व माओवादीहरू फेरि मिल्न सक्दा सबैभन्दा ठूलो दल बन्ने अवस्था आउने प्रचण्डको दाबी छ । पछिल्लो समय भने सार्वजनिक भाषणहरूमा पनि प्रचण्डले वैद्य र विप्लवहरूलाई प्रशंसा गरेर फकाउन थालेका छन् ।

गत बुधवार विप्लव समूहबाट माओवादी केन्द्रमा फर्किएका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले देशलाई वैज्ञानिक समाजवादमा लैजान पूर्वमाओवादीहरू एकीकृत हुनुपर्ने दोहोर्‍याएका थिए । वैद्य र विप्लवहरूको नियतप्रति शंका नभएको तर, चाहनाले मात्रै क्रान्ति नहुने उनले बताएका थिए ।

हिजो क्रान्तिका लागि भनेर माओवादीको मूल धारबाट बाहिरिएकाहरू अहिले मूल घरमै फर्किन थालेको भन्दै प्रचण्डले माओवादीहरू एकजुट हुनुपर्ने दबाब जनता र कार्यकर्ताहरूबाट आएको बताएका थिए । आइतबार प्रचण्ड, डा.बाबुराम र विप्लवको अभिव्यक्ति पनि एकतामा केन्द्रीत थियो । उनले भने, ‘‘समय आएको छ । फेरि हामी माओवादीहरू सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपिल गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भँगालाहरू तिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ती सबै भँगालाहरू एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो ।’’

प्रचण्डले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताए । उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीका विरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने धारणा राखे ।

डा.भट्टराई पनि माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताएका छन् । भने, “हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा गरौँ । माओवादीहरू नयाँ ढङ्गबाट एक हुन हुनुपर्छ ।’ उनले मिल्न सक्नेबीच एकता गर्नुअघि मोर्चा बनाएर छलफल गर्नुपर्नेमा जोड दिए ।

भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा लगाउनु माओवादीलाई आक्रमण गर्न खोज्नु र गिज्याउनु भएको अभिव्यक्ति दिए । उनले भने, “बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या हैन ?’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको बलिदानको कदर हुन नसक्नु दुःखद भएको बताए । उनले भने,‘देशको अवस्था परिवर्तन हुन नसके, सहिदहरूको बलिदानको सम्मान हुन नसके फेरि अर्को क्रान्ति अगाडि बढ्नेछ ।’

त्यसबाहेक, पूर्व माओवादीहरूलाई एक ठाउँमा ल्याउन उपराष्ट्रपति नन्दबहादुर पुनले पनि प्रयास गरिरहेका छन् । उपराष्ट्रपति पुनको पनि माओवादी घटकहरूको विषयलाई लिएर प्रचण्ड र अन्य माओवादी पृष्ठभूमिका नेताहरूसँग निरन्तर संवाद भइरहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।


‘शनिबार मात्र प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वमाओवादीहरु एकताको प्रयासलाई थप तिब्रता दिइरहेका छन् । १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएको विषयलाई लिएर अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरे पनि उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको हो । जे होस माओवादी घटकहरु एकताको प्रयासलाई सकरात्मक मान्न सकिए पनि तत्काल त्यो संभव नहुने विश्लेषकहरुको बुझाइछ ।