नेपालको विश्वकप छनोटको सम्भावना कायमै - रुपान्तरण
 २०८१ बैशाख ५, बुधबार    

नेपालको विश्वकप छनोटको सम्भावना कायमै


काठमाडौं । यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको अन्तिम खेलमा आयोजक यूएईमाथि सनसनीपूर्ण शानदार जित हासिल गर्दैै नेपालले विश्वकप छनोटमा सिधै छानिने सम्भावना कायमै राखेको छ ।

यूएईमा भएका चारमध्ये तीन खेलमा जित हासिल गर्दै नेपालले विश्वकप छनोटको सम्भावना कायमै राखेको हो । अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हरायो । नेपालले यसअघि पपुवा न्यूगिनीमाथि दुवै खेलमा जित हासिल गरेको थियो भने यूएईसँग एक खेल हारेको थियो ।

जितका २३० रनको चुनौती पछ्याउने क्रममा यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रनमात्र बनाउन सक्यो । यूएईका लागि आशिफ खानले ८२ तथा आर्यन लाक्राले ५० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले कमालको बलिङ गरे । दुवैले ३–३ विकोट लिए ।

त्यस्तै करण केसी, आशिफ शेख र सन्दीप लामिछानेले १–१ विकेट लिए । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २२९ रन बनायो । ६८ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालका लागि २१ वर्षे भीम सार्कीले शानदार अर्धशतक बनाएसँगै सम्मानजनक योगफल तयार गरेको हो ।

यो खेल सकिएपछि यसै सातादेखि नेपालले पपुवा न्यूगिनी र यूएईसँग घरेलु मैदानमा २–२ खेल खेल्नेछ । नेपाली भूमिमा हुने यो श्रृंखलासँगै विश्वकप लिग–२ पनि सकिने छ । यही श्रृंखलाबाटै विश्वकप छनोटमा पुग्ने शीर्ष तीन टिम र एक दिवसीयमा रहिरहने शीर्ष पाँच टिमको टुङ्गो लाग्नेछ । हरेक टिमले ३६ खेल खेलेपछि सात टोली सहभागी लिग–२ बाट यसको छिनोफानो हुन लागेको हो ।