प्रतिनिधिसभाका तीन महिनाः दुई विधेयक मात्र दर्ता - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

प्रतिनिधिसभाका तीन महिनाः दुई विधेयक मात्र दर्ता


काठमाडौं । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको संघीय संसद प्रतिनिधिसभा विजनेशविहीन बन्न पुगेको छ । नवनिर्वाचित सांसदहरु प्रतिनिधिसभामा प्रवेश गरेको तीन महिना भएपनि यो अवधिमा जम्मा दुई विधेयक मात्र दर्ता भएका छन् ।

हालसम्म प्रतिनिधिसभाको १४ वटा बैठक बसेका छन् । यी बैठकमा हालसम्म सरकारले दुईवटा विधेयक दर्ता गरेको छ भने तीन विधेयक राष्ट्रिय सभाबाट सन्देशसहित आएको छ । तर, यी विधेयकमाथि दफाबार छलफल गर्न संसदीय समितिहरू गठन हुन सकेका छैनन् ।

प्रतिनिधिसभामा प्रतिपक्षको सिटमा बस्न कांग्रेस र एमालेको हानाथाप,सभामुख देवराज घिमिरेको झन्डै एक साताको विदेश भ्रमण, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका कारण प्रतिनिधि सभाको बैठक आगामी चैत ५ गतेसम्म स्थगित गरिएको छ ।

चालु प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका छन् । सभाले सभामुख र उपसभामुख निर्वाचित गरेको छ । सभामुख देवराज घिमिरे निर्वाचित भएको डेढ महिना भएपनि प्रतिनिधिसभा सञ्चालन नियमावली बन्न सकेको छैन् ।

५ गते सभामुखमा निर्वाचित भएका घिमिरेले गत माघ १० गते प्रतिनिधि सभा सञ्चालनको नियमावली बनाउनका लागि विभिन्न दलका सांसदहरू सहभागी एक समिति गठन गरेका थिए । १५ दिनका लागि समितिलाई काम गर्ने समय दिए पनि समयमा काम नसकेर गत फागुन ४ गते नियमावली मस्यौदा समितिले नियमावलीको मस्यौदालाई अन्तिम रूप दिएको थियो ।

गत फागुन १० गते समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभामा नियमावलीको मस्यौदा पेस गरे पनि प्रतिनिधि सभाबाट पारित हुन सकेको छैन । प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्नेबाहेक यो ३ महिनामा सांसदहरूले अरू काम गर्न पाएका छैनन् ।

संसदको मुख्य कार्यभारका रूपमा रहेको कानुन बनाउने काम निकै सुस्त छ । प्रतिनिधि सभामा दर्ता भएका नयाँ दुई विधेयक सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएपनि अघि बढ्न सकेका छैनन् ।