कांग्रेसले आफ्ना सबै सांसदलाई राष्ट्रपतिमा मत हाल्न सिकाउने - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

कांग्रेसले आफ्ना सबै सांसदलाई राष्ट्रपतिमा मत हाल्न सिकाउने


काठमाडौं । आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

बैठकमा यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन परिचालनसँग जोडिएका विषयमा छलफल भएको कांग्रेस उपसभापति एवं कार्यदल संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा निर्वाचनमा राजनीतिक दलले गर्नुपर्ने प्राविधिक तयारीलगायत विषयमा समेत छलफल भएको उनको भनाइ छ ।

आठ दलले निर्वाचनको तयारीका लागि आफ्ना प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सबै प्रदेश सभा सदस्यलाई बुधबार फागुन २४ गते बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न आग्रह गर्ने निर्णय गरेको छ ।

साथै बैठकमा दलहरुले आफ्ना सांसदलाई मत बदर नहोस् भन्नका लागि मत हाल्न सिकाउने, शतप्रतिशत मत खसाल्नका लागि प्रयास गर्नेलगायत विषयमा छलफल भएको थियो ।

आठ दलीय गठबन्धनले आफ्ना साझा उम्मेदवार पूर्व सभामुख रामचन्द्र पौडेललाई विजयी गराउन यसअघि केन्द्र र सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कांग्रेस उपसभापति खड्का संयोजकत्वको कार्यदलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू रहेका छन् ।