तटस्थ बस्ने राप्रपाको निर्णय - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

तटस्थ बस्ने राप्रपाको निर्णय


काठमाडौं । विहीबार हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्ने लगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको थियो । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि छलफल गरेको थियो ।

राप्रपाभित्रका केही नेताहरु भने राजसंस्था चाहिरहेको पार्टीले राष्ट्रपतिमा भोट हाल्नु हुन्न भनेर लबिङ गरेका थिए । तर धेरैजसोले भने अहिलेको प्रणालीमा चुनाव लडेर संसदमा पुग्ने अनि राष्ट्रपतिलाई भोट हाल्दिन भन्नु मूर्खता भएकोसमेत जनाउँदै आएका थिए ।