तनहुँमा खुशीयाली, उपनिर्वाचनको तयारी - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

तनहुँमा खुशीयाली, उपनिर्वाचनको तयारी


काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँमा खुशीयाली छ । पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उनलाई चिन्नेहरु धेरै छन् ।

तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै सर्वोच्च राजकीय पदमा आसिन भएको देख्न पाउने भएपछि गाउँमा खुशीयाली छ । तनहुँबाटै छ–छपटक चुनाव जितेर संसद्मा पुग्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि स्थानीयवासीले दीपावली समेत गरेका छन् । राष्ट्राध्यक्षका रूपमा पौडेलले देश र जनताको हितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय एकता प्रवद्र्धन तथा संविधानको रक्षामा राष्ट्रपतिले निष्पक्ष र अभिभावकीय भूमिका खेल्नुपर्नेमा जनसाधारणको जोड छ ।

पौडेल निर्वाचितभएसँगै अब तनहुँ क्षेत्र नम्बर १ खाली भएको छ । पौडेल गत मंसिर ४ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर पौडेल राष्ट्रपति निर्वाचनमा विजयी भएसँगै उक्त निर्वाचन क्षेत्र खाली हुने भएको छ । जसमा उपनिर्वाचन हुनेछ । आठ दलीय गठबन्धनबाट उम्मेवार बनेका थिए ।

नेपालको संविधान २०७२ को भाग ६ को धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ भनेर उल्लेख गरिएको छ । यसर्थ पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले उनको सांसद पद अब रहने छैन । यसर्थ अब तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचन आयोगलाई उपनिर्वाचन गर्ने जिम्मेवारी आएको छ । उक्त क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराईले उम्मदवार बन्न लबिङ थालेका छन् । उनी क्षेत्रको दौडधुपमा पनि पुगेका छन् ।