ओलीको ‘मनोमानी’विरुद्ध नेपाल समूहः देशव्यापी समानान्तर कमिटी - रुपान्तरण
 २०८१ माघ २४, बिहीबार    

ओलीको ‘मनोमानी’विरुद्ध नेपाल समूहः देशव्यापी समानान्तर कमिटी


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । भुसाल र पाण्डेसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुसालले जवाफ दिएका थिएनन् ।

फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिए पछि उनीहरुले त्यसको जवाफ १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै एमालेले कारबाही गर्ने निर्णय गरेको हो ।

यसअघि ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि निलम्बन गरेका थिए । अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने भएकाले सच्चिनका लागि अन्तिम मौका दिइएको निलम्बन पत्रमा उल्लेख छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो । एमाले व्यूँतिएलगत्तै अध्यक्ष समूहले नेपाल पक्षमा केन्द्रीय सदस्यलाई नबोलाई एकलौटी निर्णय गरेपछि नेपाल समूहले पनि समानान्तर कमिटी गठन थालेको छ ।

माधवकुमार नेपाल समूहले बुधबार काठमाडौंमा युवा संघको छुट्टै कार्यालय स्थापना गरेका थिए भने बिहीबार कास्कीमा समानान्तर कमिटी गठन गरिसकेको छ । कास्कीको समानान्तर कमिटी बनाउन माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे पोखरा गएका थिए ।

बुधवार मात्रै नेता नेपालले युवा सङ्घका आफू पक्षीय सङ्गठनको काठमाडौँको बुद्धनगरमा कार्यालय स्थापना गरेका थिए । युवा सङ्घको समानान्तर कमिटी पनि जिल्ला तहसम्म नै लैजाने सो समूहको रणनीति छ ।

‘देशव्यापी सङ्गठन बनाउने अभियानमा हिँडेका छौँ, प्रदेश र जिल्ला तहमा पनि यो अभियान लैजान्छौँ, भातृ संस्थाहरू पनि अब सक्रिय बनाइन्छ ।’ पोखरामा जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता नेपालले भने ।

नेता नेपालले ओलीको मनोमानीबाट पार्टी नचल्ने भन्दै गाउँ गाउँसम्म एमाले भित्र आफ्नो पक्ष बलियो रहेको दाबी गरे । कूल आठ लाख मध्ये आफ्नो पक्षमा देशभर छ लाख नेता कार्यकर्ता रहेको नेपालले दाबी गरेका छन् ।

‘सङ्गठन कसको बलियो छ भन्ने गाउँ गाउँ गएर हेर्नु पर्छ, कोठामा बसेर पार्टीमा मनोमानी चल्दैन, देशव्यापी रूपमा एमाले भित्र हामी बलियो छौँ, कूल आठ लाख मध्ये हामी छ लाखको हाराहारीमा छौँ ।’ नेता नेपालले सम्बोधनका क्रममा भने ।

"