विश्वस्त छन प्रचण्ड - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

विश्वस्त छन प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी दिएका हुन् ।

सोही बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सबै सांसदबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरे । आफूले शतप्रतिशत सांसदबाट विश्वासको मत पाउने उनले बताए ।

यसअघि ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार शतप्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन् । एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

हालसम्म नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने औपचारिक रुपमा निर्णय गरिसकेका छन् ।

एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेकाले अब यसपालि प्रचण्डलाई विश्वासको मत नदिने लगभग तय छ । प्रचण्ड प्रधानमन्त्री भएपछि फागुन १२ गते राप्रपा र एमालेले १५ गते सरकार छोडेका थिए । प्रधानमन्त्रीले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड एमाले, राप्रपासहित सात दलको समर्थनमा गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। पहिलो पटक पुस २६ मा प्रचण्ड कांग्रेस, एमाले, राप्रपासहितका दलको विश्वासको मत पाएका थिए । प्रचण्ड संसद्मा अहिलेसम्मकै सर्वाधिक मत पाउने प्रधानमन्त्री पनि बनेका थिए । राष्ट्रपति निर्वाचनपछि कांग्रेस, माओवादी लगायत दश दलीय गठबन्धन बनेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने बुझिएको छ ।