वैदेशिक रोजगारीमा रहेका नेपाली सामाजिक सुरक्षा कोषको दायरामा - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

वैदेशिक रोजगारीमा रहेका नेपाली सामाजिक सुरक्षा कोषको दायरामा


काठमाडौं । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले बुधबार एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम शुरु भएको घोषणा गरे ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषले जनाएको छ । योजना शुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सो क्रममा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारमा जाने युवालाई विभिन्न बहानामा दुःख दिने कामको अन्त्य हुने बताए । “अब दुःख दिने काम अन्त्य भएको छ । वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्छ”, उनले भने । गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न आफूले पहल गर्दै आएको पनि उनले सो अवसरमा उल्लेख गरे ।

विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ । कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेको उल्लेख गर्दै उनले यसले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यसचिव डा शङ्करदास वैरागी गैरआवासीय नेपालीको सीप र पूँजीलाई नेपालको समृद्धिमा लागाउन सरकारले सहजीकरण गरेको धारणा राखे । अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ शुरुआत भएको बताए । उनले कोषको दायरा विस्तार गरेर सरकारको दायित्वलाई कम गर्दै लैजान सकिएको खण्डमा नागरिकले अप्ठ्यारो पर्दा कोषबाट सहयोग लिन सक्ने बताए ।

कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले यस योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताए । विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पुर्याउने उनको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई यस योजनाले समेट्ने बताए । योजनाबाट लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने जनाउँदै उनले अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने बताए । सामाजिक सुरक्षा कोषमा सङ्कलन हुने योगदान रकमबाट आन्तरिक पूँजी परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै अहिलेको तरलता सङ्कटको समस्या गर्न सहयोग पुग्नेमा उनको विश्वास छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ हुनु संघको लागि ठूलो उपलब्धी भएको बताइन । अध्यक्ष थापाले यस योजनामा सहभागी हुन चाहने महिला श्रमिकलाई विशेष ग्राहयता दिनुपर्नेमा जोड दिइन । अध्यक्ष थापाले भनिन, “महिला श्रमिकले स्वदेश वा विदेशमा पनि कतिपय अवस्थामा पुरुषको तुलनामा कम पारिश्रमिक पाउने गरेको अवस्थालाई स्मरण गराउछु र यस योजनामा समावेश गर्दा उक्त अवस्थालाई ध्यानमा राख्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउँदछु ।”

पेन्सनसहितको सुविधा पाउने गरी कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन सुरु गरेपछि बहुसंख्यक श्रमिकलाई कोषमा आबद्धताको बाटो खुलेको उनको भनाई छ । यस्तै संघका अध्यक्ष कुल आचार्यले संघको लामो समयदेखिको पहल सफल भएको भन्दै सरकार र सरोकारवालालाई आभार व्यक्त गरे । अध्यक्ष आचार्यले भने, “संघको निरन्तर प्रयास तथा नेपाल सरकारसँगको निकट सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्न सफल भएको हो । वैदेशिक रोजगारीमा कार्यरत ४० लाख बढी नेपाली दाजुभाइ दिदीबहिनीहरु तथा परिवार यो योजनाबाट लाभान्वित हुने हामीले अपेक्षा गरेका छौँ ।”

संघले लामो समयदेखि उठाउँदै आएको मुद्दामध्येको महत्वपूर्ण मुद्दा सम्बोधन भएको भन्दै उनले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन संघले पनि आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्ने र सरकारसँगै हातेमालो गर्ने प्रतिबद्धता जनाए । उनले भने, “वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो, अब प्रभावकारी कार्यान्वयनमा सरकारसँग सहकार्य गछौँ ।”

संघले हजारे अभियानको नामबाट वकालत गर्न थालेको सामाजिक सुरक्षा कोषको अवधारणा सफल बनाउन विभिन्न चरणमा धेरै प्रयासहरु भएको र सामाजिक सुरक्षा कोषको गहिरो अभिरुची सहितको लगाव र सरकारको सकारात्मक पहलले सफलता हासिल भएको अध्यक्ष आचार्यले बताए । योजनाको सफल कार्यान्वयन गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसँग सहकार्य जारी राख्ने उनको भनाई थियो ।

यसैबीच, अध्यक्ष आचार्यले नेपाल सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनःश्रम स्वीकृति लिन पाउने व्यवस्था गरेकोप्रति आभार व्यक्त गरे ।

उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षा कोषको योजना सफल बनाउन गैरआवासीय नेपाली संघले गरेको लामो समयदेखिको पहलको प्रशंसा गर्दै उक्त योजनालाई प्रभावकारी बनाउन सहकार्य गर्न आह्वान गरे ।

गैरआवासीय नेपाली संघले आफ्नो सुरुको अभियान देखि नै वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार लगायत सरोकारवालाहरुसँग वकालत, पैरवीदेखि समन्वय र सहकार्यसम्म गर्दै आएको थियो ।

यसै शिलशिलामा संघले सरकारसँग सहकार्य गर्दै आगामी अप्रिल ७ देखि ९ सम्म कतार र मलेसियामा विशेष प्रतिनिधिमण्डलसहित सामाजिक सुरक्षा कोषमा आबद्धताबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै छ । सरकारले यसअघि गत मंसिरमै ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९’ जारी गरिसकेको थियो ।