हर्ष सुब्बा
धरान । मुलुकमा समृद्धिको नारासंग जोडिदैं आएको पर्यटनको नाममा तीनै तहका सरकार बजेटको खोलो बगाउँदै छन् । ठाउँ कु-ठाउँमा अर्बौ खर्चेर टावर ठड्याउने काम हुँदैछ । हिमालपछि पर्यटनको मुख्य आधार धार्मिकस्थलहरुका पूर्वाधारको विकास, संभार र जिर्णोद्वार भने उपेक्षीत छन् । नेपालमा धार्मिक पर्यटनको नयाँ लहर शुरुआत गरेको पिण्डेश्वर बाबाधामले पूर्वमा पर्यटनको उद्धार त गरे, जिर्णोद्धार नहुँदा उसैको भने उद्धार हुन सकेको छैन् ।
बाह्रौ शताव्दीमा बनेको मानिने पिण्डेश्वरमा चार दशकअघि बोलबम मेलाको शुरुआत भएको थियो । २०४४ सालको त्यस कालखण्डमा पर्यटनको आकर्षण धार्मिकस्थलहरु हुने कल्पना पनि गरिएको थिएन ।
अहिले वर्षेनी साउन महिनाको बोलबम मेलामा मात्र यहाँ सप्तकोशीको जलार्पण गर्न पाँच लाख बढी श्रद्धालु आउँछन् । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीका अनुसार त्यस अघिपछि दैनिक देश विदेशका सयकडौं दर्शनार्थी आउने गरेका छन् । भन्छन् ‘पूर्वमा धरानलाई पर्यटनको केन्द्र बनाउन पिण्डेश्वरले मुख्य भूमिका खेल्दै आएको छ ।’ तर लाखौं श्रद्धालुको चाप बढे अनुसार वाह्रौं शताव्दीमा बनेको भैतिक संरचना जिर्णोद्वार भएको छैन् ।
पूर्वीय धर्मशास्त्रहरुमा महादेव शिवलाई अलौकिक शक्तिमानको रुपमा वर्णन गरिएको छ । उनले जलसमाधी लिन आँटेको पृथ्वीलाई बराह अवतार लिएर उद्धार गरेको पूराण वाचन गरिन्छ । उनै शिवले देव–दानव युद्धमा देवताहरु पराजित भएपछि पृथ्वी मथेर अमृत निकाल्दा बनेको कालकुट विष पिए । मानव उद्धारका लागि उनले निलकण्ठ अवतार लिएको वर्णन अहिलेपनि पारायण गरिन्छ । त्यही अमृतपिण्डबाट शिवले आफैं स्थापना गरेको आस्थाले साउन महिनामा त्यस्तो ठाउ हेर्नआउनेहरु एक किलोमिटर लामो लाइनमा उभिएका देखिन्छन् ।
पिण्डेश्वर परिसरमा केही काम भएपनि मुख्य मन्दिर परिक्रमास्थलको जिर्णोद्धार नहुँदा दर्शनार्थी बेहोश समेत हुन्छन् । साना पुजारी गोकुल पोखरेलल भन्छन् ‘महादेवले मानव उद्धारका लागि कालकुट विष पिएको ठाउँ पिण्डेश्वरले अहिले पर्यटनको उद्धार गर्यो तर, त्यही पवित्रस्थलको उद्धार भने भएको छैन ।’
परिसरमा नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले विक्रम सम्बत् १८८४ मा चढाएको घण्ट छ । त्यसअघि १२५२ मा चढाएको अर्को घण्टको लिपि बुझिन्न । उक्त सम्बत् लाई आधार मान्दा पिण्डेश्वर मन्दिरको निर्माण बराहक्षेत्र मन्दिर भन्दा अगावै भएको बुझिन्छ । विक्रम सम्बत् १९९० सालको भूइचालोमा भत्किए पछि १९९१ सालमा बराहक्षेत्र मन्दिरको पुनःनिर्माण प्रधानमन्त्री जुद्ध शम्सेर पुनःनिर्माण गरेको शिलालेख छ । पञ्चायतकालमा बा¥हौं शताव्दीको अष्टभूजा भगवतीको मूर्ति चोरी भएको सहित पिण्डेश्वर थुप्रै प्रागऐतिहासिक मूर्तिहरु छन् ।
पोखरेल भन्छन् ‘मुख्य मन्दिरको रंगरोगन सम्म हुँदैन, सात देवालय सहितका परिवरीको परिक्रमास्थलमा पचास जना श्रद्धालु अट्दैन ।’ नब्बे सालको भूकम्प त्यसपछि नेपालमा आएका ठूल–ठूला भूकम्पमा परिसरका केही देवालयहरु ढलेपनि मुख्य मन्दीर र परिक्रमास्थल उस्तै छन् ।
कोठा कोठा जोडिएर बनेको सात देवालय सहितको परिक्रमास्थल सुर्कीचुनाले बनेको हुँदा कुनैपनि बेला ढल्ने जीर्ण अवस्थामा छन् । उनका अनुसार परिक्रमास्थल लाई फराकिलो बनाउँदै जिर्णोव्दार गर्न जरुरी छ । नन्दी मुख्य मन्दिरको व्दार अघि हुनुपर्नेमा बाहिर जथाभावी भौतिक संरचना बनाउँदा ढोका बाहिर परिएको छ । उनले भने ‘नन्दी लाई मुख्य मन्दिर अघि पर्नेगरी परिक्रमास्थलको जिर्णोव्दार हुनुपर्दछ ।’
मुख्य मन्दिर पुरातात्विक महत्वको भएकाले पुरातत्व विभागको स्विकृतिमा मात्र सम्भार गर्न पाइन्छ । पुरातत्व विभागका अधिकारी बेलाबेला आउँछन् तर जिर्णोव्दारको कुरागर्दा फेरी आउने बताउँदै टार्ने गरेको छ । पुजारी सरोकारवालाहरु संग छलफल भेटघाट समेत हुने गरेको छैन् । पिण्डेश्वरको जिर्णाव्दारमा चासो राख्दै आएका प्राध्यापक डा.राजेन्द्र शर्माले भने ‘पुरातत्व र गुठि संस्थानले चासो नराख्दा जिर्णोव्दारका लागि भारतीय दुतावासबाट बजेट आउनसक्ने अवसर पनि गुमेको छ ।’
उनका अनुसार दुतावासको धरान स्थित पेन्सन वितरण कार्यालय मार्फत भारतीय दुतावासमा जिर्णोव्दार बजेटको लागि लिखित प्रस्ताव गरिएको थियो । करिब दशवर्ष अघि तत्कालिन मेजर अमित पौलले दुतावासमा पहल गर्ने वचन पनि दिएका थिए । ठूलै सहयोग आउन सक्थ्यो । उनले भने ‘मुख्य मन्दिर वरिपरीका संरचनाको जिर्णोव्दार गर्नपनि पुरातत्वले गर्न चाहेन ।’ शर्माका अनुसार पुरातत्वले आफ्नै डिजायनमा पनि जिर्णोव्दार नगर्ने, भएको स्वरुप परिवर्तन गर्न नदिने भनि सम्भव भएसम्मको सर्भे पनि नगर्दा संरचना भत्किने प्रतिक्षा भन्दा अर्को विकल्प रहेन् ।
जिर्णोव्दारको प्रस्ताव मुख्य मन्दिर वरिपरी परिक्रमास्थलको हो । गर्भगृह रहेको मुख्य मन्दिरको पुरातात्विक स्वरुपको संरक्षणमा विभागको ध्यान पुगेको देखिन्न । एघारौं बाह्रौ शताव्दीको गुम्बज शैलीमा बनेको गुम्बजको चौतर्फि फेदीमा १२८ वटा भगवान शिवका नन्दी लगायतका भूतप्रेतका आकृतिहरु छन् । ती कलात्मक ससाना मुर्तिहरुको आकृति रंगरोगन गर्दा संरक्षण गरिनु जरुरी छ । तर पुरातत्वको ध्यान त्यस्मा नजाँदा लिपिएर आकृति नष्ट हने अवस्थामा छ । पुरातत्वले मुख्य मन्दिरको रंगरोगन समेत नगरेको पुजारीहरुको गुनासो छ ।
प्राविधिक रुपमा मुख्य मन्दिर बलियो भएको पुजारी पोखरेल बताउँछन् । धरान उपमहानगरपालिका इञ्जिनीयिर हस्त राईले गरेको प्राविधिक अध्ययनमा मन्दिर ४८ इञ्च मोटाई ५२ चौडाई कटिङ गरिएको सग्लो ढ्रुंगाको पर्खालले बनेको पाइएको छ । मन्दिरको गुम्बज एउटै ढुंडगाले बनेको छ । मन्दिर बनेको पर्खालमा ढुंगा जोड्न कुनै पदार्थ प्रयोग गरिएको छैन् । पछि सिमेन्टीको प्लष्टर गरिएकाले झट्ट हेर्दा मुख्य मन्दिर अन्य मन्दिर जस्तै देखिएको हो ।
प्राडा. शर्माका अनुसार जिर्णोव्दारमा गुठि संस्थानको पनि चासो नहुँदा प्रदेश सराकार, उपमहानगरपालिकाको बजेट मन्दिर बाहिर श्रृङगारीक रुपमा भौतिक निर्माणहरुमा खेर गैरहेका छन् । उनले भने ‘प्रदेश सरकारले वर्षमा ३० लाख रुपया सम्म बजेट दिएको छ, ती सबै बाहिरका भौतिक निर्माणमा खर्च भए, जिर्णोव्दारमा केही हुन सकेको छैन ।’ त्यस्को लागि गुठीको सहमति चाहिन्छ । तर ‘जिर्णोव्दारको सहमति माग्न आए हामी दिँन्छौ’ भन्न बाहेक अन्य चासो नराखेको गुठि संस्थान लाई उधृत गर्दै शर्माले बताए ।
पिण्डेश्वरस्थल धरान वडा १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले भने जिर्णोव्दारका लागि पुरातत्व विभागको टोलीले अध्ययन गरिसकेको दाबी गरे । उनले भने ‘मुख्य मन्दिरको संरचना वाहेक परिक्रमस्थल लाई फराकिलो बनाएर जिर्णोव्दार गर्न पुरातत्वले नै बजेट लगानी गर्ने भएको छ ।’
उनका अनुसार गतवर्ष पुरातत्वको टोली आएको हो । डिजयन बनिसकेको पनि उनले दाबी गर्दै भने ‘कोरोना महामारी र लकडाउनका कारण काम रोकिएको हो ।’ बाबाधाम अध्यक्ष बनेपानी भने दशौं वर्षअघि देखी उठेको जिर्णोव्दारको प्रयास पुरातत्व विभागको वेवास्ताकै कारण हुन नसकेको बताउँछन् । विभागले सरोकारवाला संग सम्पर्क सम्म नगरेको उनको गुनासो छ ।
धरान उपमहानगरपालिका मेयर तिलक राईले भने ‘विभागले औपचारिक रुपमा उपमहानगरपालिका संग सम्पर्क गरेको छैन् ।’ धरानको ऐतिहासीक धरोहर पिण्डेश्वर पूर्वको मुख्य पर्यटन गन्तव्य रहँदै आएकाले लामो समय देखी मुख्य मन्दिर परिक्रमास्थल जिर्णोव्दारको कुरा उठ्दै आएको छ । पुरातत्व, गुठी संस्थानको समन्वयमा जिर्णोव्दारको लागि यसवर्ष परिणामुखी काम गरिने उनले बताए । पिण्डेश्वरको दैनिक सञ्चालन गुठि संस्थान अन्तर्गत हुन्छ । मन्दिरमा पुजारी सहित ४ कर्मचारी सहित दैनिक खर्चको रुपमा हाल संस्थानले ३ हजार रुपया बजेट दिन्छ ।
भाई पुजारी पोखरेलका अनुसार अन्य कुरामा चासो राख्दैन । कोरोनाकालमा आठ महिना पिण्डेश्वर पूणतया बन्द रह्यो । त्यस अवधिमा मन्दिरमा आश्रीतहरुका बारेमा संस्थानले कुने चासो लिएन । पिण्डेश्वर धरानको पर्यटनको धार्मिक, ऐतिहासक, प्राकृतिक आकर्षण भएको प्रचार गरिन्छ । तर यस्को जिर्णोव्दार जरुरी छ भनि सम्बद्ध निकायहरु बाट हुन ढिलो भएको उनको गुनासो छ ।
"