मन्त्रालय भागवन्डामा सहमति - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

मन्त्रालय भागवन्डामा सहमति


काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले मन्त्रालयको भागवन्डा मोटामोटी रुपमा टुंगो लगाएका छन् । दलहरुले सैद्धान्तिक रुपमा सहमति जुटाएका हुन् ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।

प्राप्त जानकारी अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ ।

विहीबार मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ । तर मन्त्रालयका विषयमा टुंगो लागिसकेको छैन । प्रचण्ड नेतृत्वको सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए । गठबन्धनमा आवद्ध दललाई सरकारमा सहभागी गराउने प्रयास गर्दा मन्त्रिपरिषद विस्तार ढिलाइ हुन पुगेको हो ।

दलहरुले आफ्नोतर्फबाट नेतृत्वमा जाने नेताको नामका लागि तयारी पनि गरिरहेका छन् । एकीकृत समाजवादी ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने तयारी गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।