तीन महिनामा सातौं पटक मन्त्रिपरिषद विस्तार, तर अपूर्ण - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

तीन महिनामा सातौं पटक मन्त्रिपरिषद विस्तार, तर अपूर्ण


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरी विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित नयाँ ५ दल समेटेर सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन । तर मन्त्रिपरिषद् अझै अपूर्ण छ ।

राष्ट्रपति कार्यालय शितल निवास स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन भएको हो । राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।

गत पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले,राप्रपा लगायतका दलहरु मिलेर बनेको गठबन्धन राष्ट्रपति निर्वाचनताका भत्किएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पनि सरकारबाट बाहिरिएको थियो । जसका कारण १६ वटा मन्त्रालय खाली रहेका थिए । ती मन्त्रालयहरु एमाले,राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएका थिए ।

झण्डै एक महिनाभन्दा बढी समयदेखि ती मन्त्रालय खाली रहेका थिए । एमाले,राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि माओवादीका ४ जना र जनमत पार्टीका एकजना मन्त्री मात्रै सरकारमा रहेका थिए । अहिले कांग्रेस सहितको निर्वाचन अघिको (गत मंसिर ४) पुरानो गठबन्धन ब्यूतिएको छ ।

पार्टी उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको छ । खड्कासँगै कांग्रेसबाट डा.प्रकाशशरण महत, सीता गुरुङ र रमेश रिजाल मन्त्री बनेका छन् । खड्का उपप्रधानमन्त्री सहित रक्षा मन्त्री बनेका छन् । त्यसैगरी महत अर्थमन्त्री, गुरुङ सहरी विकासमन्त्री र रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट एकजना मन्त्री थपिएका छन् । यस अघि प्रधानमन्त्री दाहाल बाहेक ४ जना मन्त्री रहेका थिए । माओवादीबाट शक्ति बस्नेत थपिएका हुन् । उनले उर्जा मन्त्रीको जिम्मेवारी पाएका छन् । यसैगरी माओवादीका तर्फबाट यस अघि नै सरकारमा रहेका नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्नन भएको छ । श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । रेखा शर्माले सम्हाल्दै आएको संचार तथा सूचना प्रविधि मन्त्रालय, सुदन किराँतीले सम्हाल्दै आएको पर्यटन मन्त्रालय र अमनलाल मोदीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी भने यथावत नै राखिएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बनेका छन् । भुसालले कृषि तथा पशुपंक्षी र ज्वालाले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गठबन्धनमा रहेको अर्कोदल जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राई मन्त्री भएका छन् । जसपाको भागमा २ वटा मन्त्रालय परे पनि उसले अर्को मन्त्री चयन गर्न सकेन । राईले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र वन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा) बाट शरतसिंह भण्डारी मन्त्री बनेका छन् । भण्डारीले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उता नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले भूमि व्यवस्था तथा सहकारी र नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री बनेका छन् ।

मन्त्रालयको भागवण्डा नमिले पछि जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन् । जनमतले उद्योग मन्त्रालयको दाबी गर्दै आएको थियो । यस अघि पनि सोही मन्त्रालयको दाबी गरेकोमा उसले खानेपानी मन्त्रालयमै चित्त बुझाएको थियो । दाहालले तीन महिनामा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् । तर यो पटक विस्तार हुँदा पनि दलहरुबीच भागवण्डामा असन्तुष्टि हुँदा मन्त्रिपरिषदले पूर्णता भने पाउन सकेन । संविधान अनुसार मन्त्रिपरिषद बढीमा २५ सदस्यीय हुनु पर्ने छ । शुक्रबारको मन्त्रिपरिषद् विस्तारले मन्त्रिपरिषद १७ सदस्यीय पुगेको छ ।