प्रधानमन्त्रीपछि दोस्रो बरीयतामा पूर्णबहादुर - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

प्रधानमन्त्रीपछि दोस्रो बरीयतामा पूर्णबहादुर


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारमा पूर्ण बहादुर खड्का उपप्रधान एवं रक्षा मन्त्री बनेका छन् । विस्तारित मन्त्रिपरिषद्को दोस्रो वरीयतामा खड्का छन् । माअ‍ोवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

उपप्रधान एवं रक्षामन्त्री बनेका खड्का नेपाली कांग्रेसको हाल उपसभापति हुन् । खड्का कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति बनेका हुन् । त्यस अघि उनी ११ औं र १२औं महाधिवेशनमा केन्द्रीय सदस्य र १३ औं महाधिवेशनमा कांग्रेसको महामन्त्री थिए ।

उनको जन्म २०१३ सालमा सुर्खेतमा भएको हो । उनी २०३१ सालबाट कांग्रेसको राजनीतिमा होमिएका थिए । मन्त्री पद उनका लागि नौलो होइन यस अघि उनी पाँच पटक मन्त्री भएका थिए । खड्का कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् । गत मंसिरमा भएको निर्वाचनमा उनी सुर्खेत क्षेत्र नम्बर –१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । प्रजातन्त्र पुन: प्राप्त पछि २०४८, २०५१, २०५६ भएको निर्वाचनमा उनी लगातार सुर्खेतबाट निर्वाचित भएका थिए । २०६४ मा संविधान सभामा उनी समनुपातिक सांसद बने भने दोस्रो संविधान सभाको निर्वाचन २०७० मा खड्का संविधान सभामा निर्वाचित भएका थिए ।

तर २०७४ को निर्वाचनमा भने पराजित भएका थिए । खड्का कर्णालीमा कांग्रेसको एक बलिया खम्बा मानिन्छन् । । कांग्रेस पार्टी प्रतिबन्धित अवस्थामा रहेकै बेला २०३४ सालमा उनी कांग्रेसको सुर्खेत जिल्ला सभापति भएका थिए ।

विभिन्न समयमा गरेर खड्काले पाँच महिना भन्दा बढी जेल जीवन बिताएका छन् । उनले एक पटक पंचायत कालमा सुर्खेतको वीरेन्द्रनगरको मेयरको रुपमा चुनाव जितेका थिए । खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका छन् । उनले दुइ पटक गृहमन्त्री एकपटक युवा तथा खेलकुद मन्त्री, संचार मन्त्री र उद्योग वाणिज्य मन्त्री समेत भएर राज्य संचालनको अनुभव हासिल गरिसकेका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उनले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता जनाए ।

मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरुसँगको छलफलबाट आफू अघि बढ्ने बताए । उनले सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताए । उनले न्युनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्युनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका कामहरु अघि सार्ने बताए ।