नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि


काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो ।

खेलको पहिलो हाफसम्म नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । तर खेलको अन्त्यतिर मनिष डाँगीले गोल थप्दै नेपललाई उपाधि दिलाएका हुन् ।

पहिलो हाफमा लाओसका फोउचाङभोङ साङ्भिले पहिलो गोल गरेका थिए । केही समयमै नेपालका आयुष घलानले बराबरी गोल फर्काएका थिए । निकै नै प्रतिस्पर्धात्मक दोस्रो हाफको ७४ औं मिनेटमा मनिष डाँगीले अन्जन विष्टको प्रहारमा आएको रिबाउन्डलाई पोस्टभित्र छिराएपनि गोल अफसाईड रह्यो ।

अन्तिम ९० मिनेटको समयमा उनै डाँगीले गरेको दोस्रो गोल जितका लागि निर्णायक रह्यो । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको थियो । नेपालका मनिष डाँगी म्यान अफ म्याच घोषित भए ।