रविको मुद्दाले गिजोलेको राजनीति - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

रविको मुद्दाले गिजोलेको राजनीति


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी भएको हो ।

बुधवार निवेदक र लामिछाने पक्षका कानुन व्यवसायीहरूले पनि बहस गरेका थिए । राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

पौडेलले दायर गरेको उक्त रिटमा ‘लामिछानेविरुद्ध मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भन्ने माग गरेका थिए ।

पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत आठ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका थिए ।

यता, राहदानी दुरुपयोगको प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयको रिट माथिको सुनुवाइका क्रममा पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो दलिलहरु पेस गरेका छन्। रिट निवेदक पक्षका कानुन व्यवसायीले सत्ताको सौदाबाजी गरेर लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय भएको टिप्पणी गरेका छन्।

लामिछानेको तर्फबाट प्रतिरक्षा बहसमा उत्रिएका कानुन व्यवसायीले अहिले चुनावी फण्डाको रुपमा लामिछानेको राहदानी प्रकरणलाई ब्यूँताइएको जिकिर गरेका छन्। रिट निवेदकका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत लिने दिन नै लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय भएको भन्दै त्यसमा सत्ताको सौदाबाजी भएको दाबी गरे। उनले लामिछानेको मुद्दा सत्तासँग साटिएको समेत जिकिर गरे।

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन लामिछानेको मुद्दा स्थगित गर्न रास्वपाका नेताहरु महान्यायाधिवक्ताको कार्यालयमा पुगेको विषय सार्वजनिक भएको दाबी पनि भण्डारीले गरे।

लामिछानेले दोहोरो राहदानी प्रयोग गरे पनि अमेरिकी राहदानी त्यागेको निस्सा कतै नदिएको पनि भण्डारीले दाबी गरे। अमेरिकी राहदानी त्यागेको निस्सा नदिइ लामिछानेले कसरी नेपाली नागरिकता प्राप्त गरे ? भन्दै भण्डारीले प्रश्न गरे।

रिट निवेदक पक्षका कानुन व्यवसायीले नेपाली वा अमेरिकी राहदानी रद्द गर्दैमा दोहोरो राहदानी प्रयोगको कसुरबाट उन्मुक्ति पाइने वा मुद्दा नलाग्ने भन्ने नहुने समेत जिकिर गरे। दोहोरो राहदानी प्रयोग गर्ने रविको कार्यमा आपराधिक मानसिकता देखिएन भनेर भन्न नमिल्ने पनि निवेदक पक्षका कानुन व्यवसायीले जिकिर गरे।

निवेदक पक्षका कानुन व्यवसायी राधिका खतिवडाले बयानका क्रममा नै लामिछानेले दोहोरो राहदानी प्रयोग गरेको विषय स्वीकारेकाले त्यो विषय तथ्यका रुपमा स्थापित भइसकेको सकिने बताइन्।

तर बुधवार चितवनमा आयोजित कोणसभालाई सम्वोधन गर्दै रविले नागरिकता र पासपोर्टको मुद्दा उचालेर आफूलाई विवादमा पार्न खोजिएको प्रतिक्रिया दिएका थिए । लामिछानेले नागरिकता र पासपोर्टको मुद्दा लड्नु परे पनि जनजीविकाको मुद्दा उठाउन नछाड्ने बताए ।