अर्बपति चौधरीको समिट अपार्टमेण्ट ‘अवैधानिक’ ! - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

अर्बपति चौधरीको समिट अपार्टमेण्ट ‘अवैधानिक’ !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. तोसिमा कार्कीले देशब्यापी रुपमा निर्माण हुँदै गरेका भवन, होटेल, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् कार्कीले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गरिन ।

उनले भनिन्,‘ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना ईआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षति भएका छन्, भासिने चर्किने क्रम जारी छ, स्थानीयले पटक पटक उजुरी दिएतापनि अपार्टमेन्ट निर्माणको काम नरोकिएको गूनासो गरेका छन् अघिल्लो बैठकमा पनि कुरा उठ्यो तर वैधानिक प्रक्रिया अगाडि बढेको छैन ।’

सांसद् कार्कीले स्थानीयको स्वीकृतिबिना नक्सापास बिना भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानबिन गर्न माग गरिन । ‘यसरी देशव्यापी रुपमा ठाउँठाउँमा बन्दै गरेका, निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गरियोस्, सभामुखबाट निर्देशन दिइयोस्, संसदीय समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइयोस्, दोषीलाई कारबाही गरियोस्, स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् र क्षति हुनसक्ने घरलाई संरक्षण गरियोस् ।’

कार्कीको यो आवाज बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्टका कारण स्थानीयवासी मारमा परेको विषयमा केन्द्रीत थियो । अर्बपति तथा सांसद विनोद चौधरीको स्वामित्वमा रहेको निर्माणाधीन अपार्टमेण्डका कारण वरपरका घर भासिएपछि स्थानीय क्षतिपूर्तिको माग गरिरहेका छन् । ललितपुर महानगरले क्षतिपूर्ति दिलाउने बताएको छ ।

अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएका छन् । एउटा ६ तले घरको भुईंतल्ला जमिनमुनि भासिएको छ भने आधा दर्जनबढी घरमा क्षति पुगेको छ । अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घर भासिएपछि भागदौड गर्ने क्रममा कतिपय मानिस घाइते भएका छन् । अपार्टमेन्ट निर्माण क्रम त रोकिए पनि पीडितको घरबासका विषयमा भने अन्योल यथावत छ ।

ललितपुर महानगर भने अपार्टमेन्ट निर्माण अवैध भएकाले सम्पूर्ण क्षतिपूर्ति सम्बन्धित निर्माण कम्पनीले व्यहोर्नुपर्ने लतिलपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताइसकेका छन् । गैरकानूनी ढंगले अपार्टमेन्ट बनाएर आफ्नो निजी सम्पत्तिमा क्षति पुर्‍याउने काम भएको भन्दै स्थानीय खनिएका छन् । साम, दाम, दण्ड, भेदका भरमा आफूहरुको न्याय पाउने ढोका बन्द हुन नहुने उनीहरु बताउनछन् ।

ललितपुर महानगरले निर्माण कम्पनीले नियमानुसारको निवेदन, प्रक्रिया र निर्माण स्वीकृति नलिई काम थालेको जनाएको छ । मेयर महर्जनले यस विषयमा निर्माण कम्पनी प्रमुख विनोद चौधरीलाई कार्यकक्षमा बोलाएर ध्यानाकर्षण गराएका थिए । अत्याधुनिक अपार्टमेन्ट बनाउने प्रतिस्पर्धाले उपत्यकाभित्र अन्य थुप्रै ठाउँमा यस्ता किसिमका जोखिम बढ्ने खतरा छ ।