ओलीलाई एकतामा फर्किन आब्हान - रुपान्तरण
 २०८१ माघ २४, बिहीबार    

ओलीलाई एकतामा फर्किन आब्हान


काठमाडौं । पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने भएको छ ।

शनिबार बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम गर्ने निर्णय गरेको हो ।

उक्त समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधारमा मानेर एकतामा फर्कन आह्वान समेत गरेको छ । आगामी दुई महिनाका लागि घोषणा भएको कार्यक्रमका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय समेत भएको छ।  बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।

बैठकपछि नेता योगेश भट्टराईले संचारकर्मीहरुसँग कुरा गर्दै एमालेको एकता संकटमा रहेकाले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको जानकारी दिए ।