काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।
शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए ।
खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहनुभएका इतिहास संशोधन मण्डलका अध्येता एवं प्रबर्द्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा पुग्नु भएको र सोही क्रममा आफ्नो घरमा समेत भेटन आउनु भएको खनालले बताए । भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस भन्ने चाहना राखेको पूर्वप्रधानमन्त्री खनालले बताए ।
उनले भने, ‘हामीले एकछिन भलाकुसारी गर्यौं । विगतका कुराहरु पनि हामीले गर्यौं । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्यौं । उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस, लोकतन्त्र राम्रो भएर जाओस, सुदृढ भएर जाओस, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गर्नुभयो ।’
भेटमा आफ्नो स्वास्थ्य प्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभएको खनालले बताए । तर, आफूले आफ्नो स्वास्थ्य भन्दा पनि पार्टी र कम्युनिष्ट आन्दोलनको बारेमा चिन्ता लागेको कुरा राखेको उनको भनाइ छ ।
उनले भने, ‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यको बारेमा मलाई चिन्ता होइन चिन्ता चाहिं पार्टीको बारेमा लागेको छ, कम्युनिष्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ । अब यस्तो अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेको बेलामा यहाँ आउनुभएको छ ।’ लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरू नै बलियो हुनुपर्ने धारणा राष्ट्रपतिले राखेको खनालले बताए ।