नक्कली भुटानी शरणार्थी प्रकरणले नेताहरुलाई तनाव, सदनमा जुहारी - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

नक्कली भुटानी शरणार्थी प्रकरणले नेताहरुलाई तनाव, सदनमा जुहारी


काठमाडौं । भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा पक्राउ परेका आठजनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ । यसका लागि थप सात दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति समेत दिएको छ । तर यो प्रकरणले राजनीतिमा ठूलै हलचल ल्याइदिएको छ । पूर्वमन्त्रीदेखि वहालवाला सांसदहरुसमेत प्रकरणमा मुछिने देखिएको छ ।

प्रकणको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले अनुसन्धानका लागि पक्राउ परेका सबैलाई थप सात दिन हिरासतमा राख्न अदालतबाट अनुमति प्राप्त भएको बताएका छन् । प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार राईका छोरा निरज फरार छन् ।

प्रकरणमा पक्राउ परेका नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीका छोरा सन्दिप, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राईलाई थप सात दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो ।

आइतबार मात्र ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएपछि उच्च ओहोदाका व्यक्ति र राजनीतिक दलका नेताहरुमा हलचल ल्याएको छ । सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ। साथै उक्त भिडियो ३० मिनेटको प्रहरीसँग सुरक्षित रहेको बताइएको छ ।

सार्वजनिक भएको अडिओमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई साढे २ करोड र कांग्रेसकै अर्की सांसद मञ्जु खाणलाई ६ करोड रकम बुझाएको उल्लेख छ। खाण पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी पत्नी हुन्। प्रकरणका बारेमा प्रहरीबाट आधिकारीक जानकारी नआउँदै नेताहरुले विज्ञप्तिबाजी र अभिब्यक्तिमार्फत आफ्नो बचाउ गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उक्त प्रकरणले अताल्लिएका छन् । उनले दोस्रो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । तीन दिनको अन्तरमा दोस्रो पटक प्रचण्डलाई भेट्न ओली सिंहदरबार पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

यता, कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन गरेका छन् । विज्ञप्ति जारी गर्दै खाँडले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन् ।

नेताहरुले दोषीलाई उम्कुक्ति नदिन दबाब बढाइरहेका छन भने फरार रहेकालाई तुरुन्त पक्राउ गर्न सरकारलाई दबाब दिएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा पनि घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । नेकपा एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरे । “सत्यतथ्य, पादरदर्शी ढङ्गले छानबिन गरियोस्, तर हामी आज सुन्दैछौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ”, उनले भने ।

सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताए । सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही होस्, निर्दोषलाई नफसाइयोस् भने ।

सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन आग्रह गरे । सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए । उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने बताए ।

सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरु विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेश गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे । “उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचरसम्बन्धी घटनाको छनबिन गर्नुपर्छ”, उनले भने । सांसद् प्रेम सुवालले नक्कली भूटानी शरणार्थी प्रकरणसम्बन्धी घटनाको निस्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रदीप यादवले तत्काल नागरिकता विधेयक जारी गर्न माग गरे । सांसद रघुजी पन्तले नागरिकता विधेयक वर्तमान राष्ट्रपतिबाट जारी गर्ने विषय कानून सम्मत नभएको बताए । सांसद सुनील शर्मा भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए । सांसद सरिता प्रसाईँले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नुहुन्न, निर्दोष उम्कनु हुन्न भने ।

सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानूनी दायरामा ल्याइनुपर्ने बताइन् । सांसद आरजू राणा देउवाले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टिकाटिप्पणी भइरहेको बताइन् । उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक होस् त्यसका निम्ति आफूहरु तयार रहेको बताइन् ।

सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए । उनले सरकारले भुटानी शरणार्थीसम्बन्धी छानबिन गर्ने तदरुकता देखाएकाप्रति धन्यवाद ज्ञापन गरे । सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गरे । सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए ।