१३ जनाको बयान सकियो, प्रतिवेदनको तयारी - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

१३ जनाको बयान सकियो, प्रतिवेदनको तयारी


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनाको बयान सकिएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसीको बयान सकिएको हो ।

यस्तै, सोही प्रकरणमा मुछिएका सानु भण्डारी, केशव दुलाल, सागर राई, गोबिन्द चौधरी, रामशरण केसी र टंककुमार गुरुङको बयान पनि सकिएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार सो प्रकरणमा बढी रकम बुझ्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजीत राई रहेका छन् । उनले ५ करोड भन्दा बढी रकम लिएको खुलासा भएको छ ।

यसैगरी टोपबहादुर रायमाझीले ३ करोड, खाँडले १ करोड २३ लाख बढी, टेकनारायण पाण्डेले ५० लाख, नरेन्द्र केसीले ५ लाख बढी, सन्दीप रायमाझीले ४० लाख र रामबदादुर थापाका छोरा प्रतीक थापाले १ करोड बढी रकम बुझेका थिए ।

प्रहरीले बयान सकिएकाहरुलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध मानव बेचविखन तथा ओसारपसार, सार्वजनि पद दुरुपयोगलगायतको मुद्दा चलाउने गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । यसका लागि थप तीन चार दिनको समय लाग्ने बताइएको छ ।

सोही प्रकरणमा आत्मसमर्पण गरेका आङटावा शेर्पाको भने बयान लिने क्रम जारी छ । उनलाई प्रहरीले २ दिनको म्याद थप गरी बयान लिन लागेको हो । सोही प्रकरणमा मुछिएका फरार पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक थापा र ईन्द्रजित राइका छोरा निरज राइको खोजी कार्य जारी छ ।

यता, पूर्व गृहमन्त्री खाँडले इन्कारी बयान दिएका छन् । मंगलबार राति साढे ९ बजे सकिएको बयानमा उनलाई लगाइएको आरोपमा इन्कारी बयान दिएका हुन् । सरकारी कर्मचारीले ल्याएको फाइल सदर गर्ने, सरकार निरन्तर उत्तराधिकारी भएकाले अघिल्लो सरकारले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनले नै सबै कुरा बोलेको र नक्कली प्रतिवेदनबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

‘यो विषयमा मलाई जानकारी नै छैन, मन्त्रालय कुन कर्मचारीले के गल्ती गरेका छन् त्यसको जिम्मेवारी उनै कर्मचारीले लिनुपर्नेछ’, खाँडको बयानलाई उधृत गर्दै स्रोतले भन्यो । मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा सरकारी वकिलको रोहबरमा प्रहरीले उनको बयान लिएको हो । उनको बयान राति साढे ९ बजे सकिएको कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।