नक्कली भुटानी शरणार्थी प्रकरणः राजनीतिक दबाबकाबीच प्रतिवेदन बुझाइयो - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

नक्कली भुटानी शरणार्थी प्रकरणः राजनीतिक दबाबकाबीच प्रतिवेदन बुझाइयो


काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंलाई बुझाएको हो ।

मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको छैन । अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको प्रहरीको भनाइ छ ।

स्रोतका अनुसार यो प्रकरणमा एमालेका सचिव एवम् अर्घाखाँचीबाट निर्वाचित सांसद् टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई जोगाउनेगरी प्रतिवेदन तयार पार्न प्रहरीलाई उच्च तहका नेताहरुको दबाब आएको थियो। प्रहरी महानिरीक्षक वसन्त कुँवरले समेत मुद्दा कमजोर हुनेगरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको दाबी स्रोतले गरेको छ।

उता महान्यायाधिवक्ता दीनमणि पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान कार्कीलाई आइतबार मात्रै बोलाएर मुद्दाको फाइल मिलाएर ल्याउन भनेका थिए। स्रोतका अनुसार पोखरेलले यो मुद्दामा सत्ता र प्रतिपक्षका उच्च राजनीतिक नेताहरुको ठूलो चासो रहेको संकेतसहित अनुसन्धान प्रतिवेदन त्यहीअनुसार मिलाएर ल्याउन कार्कीलाई भनेका थिए

उता आईजी कुँवरले पनि अनुसन्धानमा खटिएका प्रहरीलाई फाइल मिलाएर सरकारी वकिल कार्यालयमा बुझाउन भनेको दाबी स्रोतको छ। यसअघि पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई वैशाख २० गते प्रक्राउ गर्न गएको टोलीलाई आईजी कुँवरले फिर्ता बोलाएका थिए।