पाँच सय जना सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

पाँच सय जना सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा


काठमाडौं । यस वर्षको बसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताए । “वसन्त ऋतुको सगरमाथा आरोहणमा चार सय ७८ ले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा हालसम्म करिब पाँच सयको हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा आरोही तथा शेर्पा गाइड पनि छन्”, महानिर्देशक लुइँटेलले भने ।

मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबर्द्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ । यस वर्षको बसन्त ऋतुको आरोहण गत बैशाख ३० गतेबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर०ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने)गरेपछि आरोहणको ढोका खुलेको हो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कूल चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।