कोरोनाको त्रास : काठमाडौं उपत्यका प्रवेशमा कडाइ - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

कोरोनाको त्रास : काठमाडौं उपत्यका प्रवेशमा कडाइ


काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिको एन्टिजेन परीक्षण गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सम्बन्धित स्थानीय तहहरूलाई नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गराउन निर्देशन दिएको जानकारी दिए ।

यस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।

साथै बैठकले सबै स्थानीय तहहरूलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

यस्तै सोमबारदेखि लागू हुनेगरी नेपाल प्रहरीले ठाउँठाउँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा पनि अनुगमन गर्ने निर्णय पनि गरेको छ ।