जुनसुकै बेला पक्राउ पर्नसक्छन थप ‘हाइ-प्रोफाइल’ - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

जुनसुकै बेला पक्राउ पर्नसक्छन थप ‘हाइ-प्रोफाइल’


काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।

उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ ।

अन्य पक्राउ परेकामा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेको भन्दै ३३ जना विरुद्ध ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित सोमबार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । उक्त घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए ।

यसअघि प्रहरीले ‘हाइ प्रोफाइल’ भएका व्यक्तिलाई जुनसुकै बेला पक्राउ गरी अनुसन्धान गर्न पाउने गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको थियो । अनुसन्धानलाई फराकिलो बनाउँदै प्रहरीले यसपछि पनि ६० दिनसम्म राखेर अनुसन्धान गर्ने गरी मुद्दाको प्रतिवेदन बुझाएको हो । प्रहरीका अनुसार अहिले पक्राउ परेका र पर्न बाँकी रहेका हकमा पनि संगठित अपराध ऐन अनुसार कारबाही गर्ने गरी अनुसन्धानको दायरा फराकिलो बनाएको हो ।

प्रहरीले रायसहितको प्रहरी अनुसन्धान प्रतिवेदन प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएपछि सरकारी वकिलको कार्यालयले सोमबार साँझबाटै त्यसको अध्ययन शुरु गरेको हो ।

हाललाई ३३ जनाविरुद्ध तीन वटा कसुरमा मुद्दा चलाउनुपर्ने राय दिँदै प्रतिवेदन बुझाइए पनि अनुसन्धानका क्रममा गिरोहका सदस्यले नाम लिएका तर प्रस्ट प्रमाण नजुटेका ‘हाइ प्रोफाइल’सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको स्रोतको दाबी छ ।

सबै ३३ जनाविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर, संगठित अपराध निवारण ऐन, २०७० ऐनको दफा ३ को उपदफा (२)अनुसारको संगठित अपराध सम्बन्धी कसुर र मुलुकी अपराध संहिताको परिच्छेद १ मा ‘राज्यविरुद्धको कसुर’ लगाएर मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।

यस्तै प्रहरी अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, पूर्वगृहसचिवहरू प्रेम राई र महेश्वर न्यौपाने, सांसदहरू डा। आरजू राणा देउवा र मन्जु खाँड, एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसहितका सात जनालाई संगठित अपराध ऐन २०७० को दफा २२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम प्रमाण खुलेका बखत पक्राउ गर्न सक्ने गरी सिफारिस गरेको स्रोतको दाबी छ ।

यस्तै प्रहरीले केशव दुलाल र सानु भण्डारीलाई मुख्य योजनाकार मानेको छ । उनीहरूको योजनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नीतिगत निर्णय गरेर साथ दिएको र गिरोहको संरक्षकको भूमिका खेलेको दाबी गरेको छ ।

यस्तै सानु भण्डारी र केशव दुलाललगायत योजनामा पूर्वगृहमन्त्री रामबहादुर थापाका बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, थापाका छोरा प्रतीक थापाले सहयोग गरेर संगठित अपराधमा संलग्न रहेको प्रहरीको निष्कर्ष छ । पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी र इन्द्रजित राईका छोरा निरज राईले पनि बिचौलिया र गिरोहका सदस्यको संरक्षकको भूमिका खेलेर पैसा आर्जन गरेको प्रहरीको दाबी छ ।

भुटानी शरणार्थी नेता रिजालले गिरोहलाई पैसा उठाउन माहोल बनाइदिएको प्रहरीको अनुसन्धानमा देखिएको दाबी गरिएको छ । बाँकी रहेका अन्य व्यक्तिहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा पीडितहरूबाट ५ लाखदेखि ५० लाखसम्म रकम उठाएर ठगी धन्दा चलाएको अनुसन्धान प्रतिवेदन पेस गर्दै प्रहरीले सबैलाई तीनवटा कसुरमा मुद्दा चलाउन राय दिएको छ । अभियुक्तहरूले बयानमा नाम उल्लेख गरेका थप आठ जनाविरुद्ध प्रमाण जुट्न नसके र जुटेका बखत पक्राउ गरी अनुसन्धान गर्ने जनाएको छ ।

जसमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, पूर्वप्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, एमालेका पूर्वप्रदेशमन्त्री डा। अजयक्रान्ति शाक्य, टोपबहादुर रायमाझीका सहयोगी लीला जिसी र एमालेमै आबद्ध राजेश्वर स्थापित छन्  ।

उनीहरूमध्ये लीला जिसीलाई प्रहरीले पक्राउ नै गरेको थियो । तर उनको नाम लिएका बिचौलियाले पहिचान नै गर्न नसकेपछि छाडिएको स्रोतको दाबी छ । प्रहरीले बुझाएको प्रतिवेदनमा प्रमाण खुलेका बखत पूरक अभियोग अघि बढाउने उल्लेख छ । तथ्य र प्रमाण खुलेका वेला थप व्यक्तिविरुद्ध पूरक अभियोग अघि बढाइने काठमाडौं परिसरले जनाएको छ ।