प्रचण्डको भारत भ्रमणको तालिका तयार - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

प्रचण्डको भारत भ्रमणको तालिका तयार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले ३१ मेदेखि जुन ३ सम्ममा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको विनम्र निमन्त्रणामा भारतको औपचारिक भ्रमण गर्नुहुनेछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छु’ पराराष्ट्र मन्त्री एनपी साउदले भनेका छन् ।

अर्थात् जेठ १७ देखि २० गतेसम्म प्रचण्ड भारत भ्रमणमा हुनेछन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्न लागेको जनाएको छ ।

प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ ।

मोदीले प्रचण्ड र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्नेछन् । प्रचण्ड नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने परराष्ट्र र विदेश मन्त्रालय दुवैले जनाएका छन् ।

प्रचण्डको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरूसँगै स्वकीय सचिवसमेत रहेकी प्रचण्ड पुत्री गंगा पनि रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।