जेलमुक्त भएका रेशम चौधरीलाई फुलमाला र अविर - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

जेलमुक्त भएका रेशम चौधरीलाई फुलमाला र अविर


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान जेलमुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका हुन् । करिब १५ वर्ष कैद सजाय तोकिएको चौधरीको पाँच वर्ष तीन महिना जेल सजाय काटेर १४ वर्ष ९ महिना छुट भएको हो ।

सन् २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

उक्त घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा चौधरीलाई अभियोजन गरिएको थियो । राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेका थिए ।

उनीहरुले रेशमलाई फूलमालाले भव्य स्वागत गरेका छन् । उनको स्वागतका लागि बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो । तर सामाजिक सञ्जालमा भने सरकारले यस निर्णयको चौतर्फी बिरोध भएको छ । चौधरीको बाँकी सजाय मिनाहा गराउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयको प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गरेको छ ।

रिहाइपछि चौधरीले टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने र त्यसका लागि आफूले पनि सघाउने बताए । उनले भने, ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरु कसरी मारिए भनेर थाहा पाउनुपर्छ । त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउँछ ।’