प्रचण्ड दिल्लीमाः विदेशमन्त्री आएनन्, राज्यमन्त्रीले गरिन स्वागत - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

प्रचण्ड दिल्लीमाः विदेशमन्त्री आएनन्, राज्यमन्त्रीले गरिन स्वागत


काठमाडौं । चारदिने भारत भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । बुधबार त्यसतर्फ प्रस्थान गरेका दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेका थिए ।

नेपाल एयरलाइन्सको विमानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ४० मिनेटमा इन्दिरा गान्धी विमानस्थानमा अवतरण गरेका हुन्। भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माकाअनुसार प्रधानमन्त्री दाहाललाई विदेश राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । सो क्रममा प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।

यसअघि प्रधानमन्त्री दाहालको स्वागतको लागि भारतीय विदेशमन्त्री एस जयशंकर आउने चर्चा थियो । तर, उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न महिनामा हुने अमेरिका भ्रमणको तयारीको लागि अमेरिका गएका छन् ।

यसअघि नेपाल वायुसेवा निगमको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुपहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, तीन वटै सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले बिदाइ गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा सम्मान गारत सलामी अर्पण गरेको थियो । भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित भारत जानेछन् । भारतले प्रधानमन्त्रीको भ्रमण टोलीका लागि ४७ जनाको कोटा दिएको थियो ।

तर प्रधानमन्त्रीसँग जानेहरुको संख्या ११५ नाघ्ने स्रोतले बताएको छ । ४७ जनाभन्दा बढी पाहुनाको खर्च भारतले नव्यहोर्ने भएको छ । भारत भ्रमणमा जानेमध्ये २५ जना ‘उच्चस्तरीय’ को नाम मन्त्रिपरिषदले स्वीकृत गरेको छ । उनीहरुमध्ये प्रधानमन्त्रीको सचिवालयका मात्रै १० जना रहेका छन् ।

"