खाँणको बचाउमा वकिलहरु, सडकमा नाराबाजी - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

खाँणको बचाउमा वकिलहरु, सडकमा नाराबाजी


काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा बहस जारी छ । पक्राउ परेका मध्य पूर्वमन्त्री बालकृष्ण खाँणको बचाउनमा कानून व्यवसायीहरु शसक्त रुपमा उभिएका छन् । कानुन व्यवसायीहरूले प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या गरिएको बताएका छन् ।

नक्कली शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत, काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस भइरहेका वेलामा उनका वकिलहरू पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोे खाँणमाथि लगाएको अभियोगको औचित्यमाथि नै प्रश्न गरेका छन् ।

वरिष्ठ अधिवक्ता एवं बार अध्यक्ष घिमिरेले खाँणको साथबाट बरामद भएको कागज भनेर प्रहरीले अभियोग पत्रमा समावेश गरेको दसी प्रमाणमा प्रश्न उठाएका छन् । अभियोगपत्रअनुसार खाँणलाई २७ चैतमा उनको घरबाट पक्राउ गर्दा केही कागजात बरामद भएको थियो । त्यसमध्ये यो प्रकरणमा पक्राउ परेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले एउटा कागज पठाएका थिए, जसमा केशव दुलालको बयान फेर्न लगाउनुप¥यो, नभए खाँणविरुद्ध मुद्दा चल्न सक्छ भनिएको थियो ।

पक्राउ परेपछि खाँणले यो कागज च्यात्ने प्रयास गरेका थिए । प्रहरीले यसलाई जोडजाड पारेर प्रयोगशालामा पठायो र पाण्डेले नै लेखेको पुष्टि पनि भएका छ । बुधबार खाँणको बचाउ गर्ने क्रममा वरिष्ठ अधिवक्ता घिमिरेले खाँणको घरबाट बरामद भएको भनिएको त्यो कागज टाँसिएको र त्यसमा फरक मसी प्रयोग भएको दाबी गरे । उनले तत्कालीन गृह सचिव पाण्डेलाई रानीपोखरीस्थित प्रहरी कार्यालयमा पुर्याएर सरकारी वकिलले बयान लिएको समेत दाबी गरेका छन् । तत्कालीन गृह सचिव पाण्डेको बयान उद्धृत गर्दै उनले भने, ‘राति निद्रामा लगेर बयान गराइएको रहेछ ।’

घिमिरेले भने, ‘मेरो पक्षको राजनीतिक चरित्रहत्या भएको छ । प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो । यसको क्षतिपूर्ति कसरी हुन्छ ?’पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले ठगीको आरोपमा बयान गराएर सरकारी कागजात कृते गरिएको मुद्दा चलाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मेरो पक्षलाई जुन विषयमा बयान लिइएको छैन, त्यसैमा अभियोजन गर्न मिल्छ रु’

उनले ठगीको आरोपमा जाहेरीकर्ता र आरोपितबीच मेलमिलाप भएमा मिलापत्र समेत हुने अवस्था भएको भन्दै त्यसलाई समेत निषेध गर्न अरू अभियोगमा तानिएको बताए । बालकृष्ण खाँणमाथि एक करोड २६ लाख लिएको अभियोग लागे पनि कुनै पनि पक्षले रकम बुझाएको नस्विकारेको भन्दै उनले भने, ‘प्रमाणविना पनि अभियोग हुन्छ ?’ वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले दुई व्यक्तिबिचको संवादमा आधारित भएर तेस्रो व्यक्ति (बालकृष्ण खाँण) माथि अभियोग चलेको भन्दै त्यसको औचित्यमा प्रश्न गरे ।

अधिवक्ता ललित बस्नेतले प्रहरीले २२ दिन आरोपितहरूलाई थुनामा राखेपछि मुद्दा रूपान्तरित गरेर सङ्गठित अपराधमा मुद्दा चलाएको आरोप लगाए । उनले क्रिकेटर सन्दीप लामिछानेको हकमा उच्च अदालत पाटनले दिएको आदेशको सिद्धान्त खाँणको पक्षमा पनि आकर्षित हुने बताए ।

उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । उक्त प्रकरणमा रु २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ । उक्त घटनाका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेका प्रहरीले जनाएको छ ।

तर यता, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पक्षमा प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध नाराबाजी गर्ने नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १३ नेताहरू पक्राउ परेका छन् । प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको जिल्ला अदालत, काठमाडौं परिसरमा नाराबाजी गर्दै पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।