चुडामणि शर्मासहित तीन जनालाई नौं वर्ष कैद सजाय, ६ अर्ब १५ करोड बिगो - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

चुडामणि शर्मासहित तीन जनालाई नौं वर्ष कैद सजाय, ६ अर्ब १५ करोड बिगो


काठमाडौं । विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फछ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल विगो कायम गरेको थियो । दामासाहीले भाग लगाउँदा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ विगो तिर्नुपर्ने विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए ।

राजस्व चुहावटको मुद्दामा विगोको दोब्बर सजाय हुने भएकाले उनीहरुले जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । विगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।