प्रचण्ड कामरेड : दशा र दिशा - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

प्रचण्ड कामरेड : दशा र दिशा


किशोर नेपाल

‘मिलिजुली बसौं, बाँडीचूँडी खाउँ’ आजका मितिसम्म काठमाडौं शहरको राजनीतिक सत्ता यही मान्यतामा टिकेको छ । उतिबेला पन्चहरु बाँडीचूँडी खान्थे । यतिबेला बहुदलबादीहरु बाँडीचूँडी खाइ रहेका छन । कहिले नेपाली नागरिकलाई भूटानी बनाएर बाँडीचूँडी खाएका छन । कहिले पशुपतिनाथको जलहरी बनाउन कफल्दो सुनको प्रयोग गरेर बाँडीचूँडी खाएका छन । जुन प्रधानमन्त्रीले सरकारी ढुकुटीबाट बनेको पशुपतिनाथको जलहरीमा आफ्नो नाम कुँदाउन लगाएका थिए तिनका बारे के हुन्छ ? भन्न सकिदैन । दशौं पटक जोख्दा पनि र दशौं पटक रगडदा पनि जलहरीमा प्रयोग भएको सुनको स्तर र तौल यकीन हुन सकेको छैन । पशुपति बिकास कोषका हाकिमहरु तरतरी आँशु झारेर नौटंकी देखाउँदैछन ।

देशमा ब्यबस्था नयाँ छ, तर नेता पुरानै छन । पुरानै चलन जारी छ । उहिले पन्चायत कालमा ‘सरकार लागेको’ लोकतन्त्रवादी आन्दोलनका क्रान्तिकारी नेता सुवर्ण शमशेर राणाको सम्पत्ति पचाउन नेता र कर्मचारीहरु जालसाजीको जालो बुन्दछन ।

भनिन्छ, देशमा धेरै परिवर्तन भएको छ । तर ती परिवर्तनलाई संख्यामा एक, दुइ, तीन भनेर देखाउने उदाहरण छैन । सक्नेले पन्चायत कालमा शाही नेपाल वायुसेवा निगम र लोकतान्त्रिक समयमा उड्डयन प्राधिकरणको नाममा गठन भएका सरकारी संस्थानको ब्रम्हलूट गरेकै छन । ती लुटने र लुटाउनेको नाम उल्लेख गर्ने हो भने ‘यूट्युब’मा आगो बल्नेछ । यो जनता रमाउने बाटो हुनेछ । निःशुल्क मनोरन्जनको बाटो । कुनै दीगो हवाइ नीति विना पालिएका सेता हात्तीमा कति धमिरा लागे र कति धमिजा लागे । जाँगर चले पत्रकार साथीहरुले केलाए हुन्छ ।

गएको चुनावपछिको परिदृश्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्ड कामरेडलाई मिलिजुली सरकारको नेतृत्व गर्न दिन तयार नभएपछि प्रचण्ड कामरेडले एमाले सहितका दलको सहयोगमा सरकार बनाउनु भयो । तर, त्यो सरकार टिक्ने आधार कमजोर थिए । सरकार छ महिना पनि टिक्न सकेन । त्यसपछि राष्ट्रपतिको चुनाव राष्ट्रिय सहमतिका आधारमा गर्ने प्रचण्ड कामरेडको प्रस्ताव कारगर भयो । उहाँको नेतृत्वको सरकार कायम राख्न कांग्रेस सरकारमा छिर्ने भयो । माओवादी, कांग्रेस, समाजवादी, जसपा, लोसपालगायतका दलको मिलिजुली सरकार बन्यो । यसपछि देशको घटनाक्रममा तिब्रता आयो । हेर्दाहेर्दै प्रचण्ड कामरेडको सरकारले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर मानिसको अवैध निर्यात गर्ने खेलको भण्डाफोर गर्यो । यो कुकर्ममा कांग्रेसका वाहूवली नेता बालकृष्ण खाँण, माओवादी छाडेर एमालेतिर लागेका अर्का चतुरतम नेता टोपबहादुर रायमाझी र दर्जनौं तानिए । पूर्वगृहमन्त्री रामबहादुर थापा बादललगायतका थुप्रै नेता, प्रनेता र उपनेताहरु, सल्लाहकार र उच्चस्तरीय ब्यक्तिहरु शंकाको घेरा भित्र परेका वादल र रायमाझीका छोराहरु नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर देश कटाएको मुद्दामा डामिने गरि झोसिएका छन । बिश्वास गरौं, तिनले पक्कै पनि सजाय पाउने छन ।

यो सत्य हो, भ्रष्टाचारको फोहोरी खेलमा देशलाई चुर्लुम्म डुबाउने ब्यक्तिहरुको अन्त्य कदापि शान्तिपूर्ण हुँदैन । अहिले सरकारले जुनजुन काण्डको फाइल खोलेको छ ती संगैै काण्डहरुका फाइल खुल्दै जानेछन । परिणाम स्वरुप आगामी धेरै बर्षसम्म नेपालको संघीय राजधानी कान्तिपुरको आकाशमा गिद्ध र चीलहरु मडारिइ रहनेछन । चरम दुःख सहेर बसेका भूटानी शरणार्थीको पहिचान मेटेर उनीहरुको बिल्लीबाठ गराउने, सरकारकै आँखा अगाडि सरकारी सम्पत्ति हडप्ने र देवतालाई चढाएको सुनको जलहरी कोट्याएर पनि आफ्नो नाफा निकाल्नेहरुका बिरुद्ध जनतामा अझै जागृति आएको छैन । यो गम्भीर कुरा हो । जनताले राजनीतिक धेरै घुमाउरा कुरा बुझेका हुँदैनन् । उनीहरुलाई परिप्रेक्षमा सबै कुरा सम्झाउनु संचारकर्मीहरुको कर्तब्य हो ।

बुधवारको संसद बैठकमा प्रधानमन्त्री प्रचण्ड कामरेड अलिकति उत्तेजित, निकै उत्साहित र निकै पुलकित देखिनु भएको थियो । यो अस्वाभाविक थिएन । प्रचण्ड कामरेड काम गर्नसक्ने क्षमतावान ब्यक्तित्व हो । अहिलेका घटनाक्रम उहाँको अग्रसरतामा अगाडि बढेका छन भन्न संकोच मान्नु पर्दैन । तर, सरकारलाई काम गर्न नदिने वातावरण बढदै गएको छ । यसलाई कसरी रोक्ने ? उहाँको मनको पोखरीमा यो प्रश्नले पौडी खेली रहेको होला ।

अमेरिकाका राष्ट्रपति तथा आफ्नो जमानाका लोकप्रिय अभिनेता रोनाल्ड रेगनले सन १९८६ माभनेका थिए–‘अंग्रेजी भाषामा केही शब्द एकदमै डरलाग्दा छन ः आइएम फ्रम दि गभर्नमेन्ट एण्ड आइएम हेल्प टू हियर । आजको समयमा प्रचण्ड कामरेडका लागि रोनाल्ड रेगनका यी शब्दहरु मननीय छन । सरकारमा रहेको मानिसले आपूm त्यहाँ (जनता) सहयोग गर्न उभिएको छु भन्नु अहिलेको नेपालका लागि उत्तिकै कठिन अभिब्यक्ति मात्र नभएर बिडम्बना नै हो । भन्छन नि, ‘थुतुनोले दम्भ कहन सकिन्छ । ब्यबहारमा प्रदर्शन गर्न त बाहुबली नै हुनु पर्दछ ।’

नेपालको सन्दर्भमा यतिबेला प्रचण्ड बाहुबली नै हुनुहुन्छ । यो कुरामा कुनै शंका छैन । राजनीतिमा जसले साहस गर्दछ जीत उसैको हुन्छ । प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले पाँचै बर्षमा तत्कालीन शाही नेपाली सेनाको आकार पैंतालिस हजारबाट बढाएर नब्बे हजार बनाउनुपर्ने बाध्यताको सिर्जना गरिदिएको थियो । त्यो फौजले नपुगेर तत्कालीन सरकारले थप पन्ध्र हजार सशस्त्र प्रहरी बलको ब्यबस्था गर्यो । त्यो परिस्थितिमा सरकार आतंकित थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपालमा माओवादी विरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय आतंकवाद विरुद्धको अभियानको एक अंग घोषित गरेको अवस्था थियो त्यो । त्यहीबेला माओवादी नेताहरुको टाउकाको मूल्य तोकिएको थियो । नेपाली कै छोटो समयमा त्यो परिस्थितिबाट निस्किएर आजको परिस्थितिसम्म आइपुगेको हो । बृहत शान्ति सम्झौता पछिको सयमा नेपालको राजनीतिक घटनाक्रममा ठूलो विचलन आएको छैन । माओवादीहरु पटक पटक राज्य संचालनको पहिलो लहरमा बस्न सफल भएका छन । तै पनि, देशको राजनीतिक अवस्था सामान्यकृत भै सकेको छैन । देशमा फैलिएको भ्रष्टाचारले राजनीतिक दल, नागरिक समाज, ब्यबसायी वर्ग, किसान, मजदूर र सर्वसाधारण जनता अत्यधिक पीडित भएका छन ।

आजका अधिकांश नेताहरु दम्भी सावित भएका छन । उनीहरुमा देश बिकासको जूनून छैन । हुटहुटी छैन । न्याय दिने चाहना र निर्णय गर्ने क्षमता दुबै छैन । एउटा उदाहरण सिक्टा सिंचाइको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बाहुवली नेता तथा पेशाले ठेकेदार बिक्रम पाण्डे मन्त्री भएको अवस्थामा उनको ठेकेदारीमा बनेको सिक्टा सिंचाइ आयोजना भासियो । त्यो ठाडो भ्रष्टाचार थियो । तर, सिक्टा आयोजना माटोको घुलनशीलताका कारण भासिएकोले कुनै कारवाही गर्नु नपर्ने निर्णय आयो अदालतबाट । त्यो हास्यास्पद निर्णय उल्टाउने ताकत कसैमा देखिएन । अब समय आएको छ अरबौं लगानी भएको सिक्टा सिंचाइ माटोमा घुलमिल भएको रहस्य पत्ता लगाउने । यस्ता घटनाहरुमा प्रधानमन्त्रीले जनताको पक्षमा बिबेकशील हस्तक्षेप गर्ने हो भने जनताले स्वच्छताको आभाश पाउन सक्दछन ।

मिलिजुली सरकारका बारेमा नेपालका अनुभवहरु भिन्नभिन्न छन । साना र गरीब देशहरुमा मिलिजुली सरकारले उन्नतिका राम्रा काम गरेका छन । तर, नेपाली जनताले अहिलेसम्म मिलिजुली सरकारबाट अपेक्षित प्रतिफल पाउन सकेका छैनन । २०४६ सालको परिवर्तनपछि पहिला ेपटक नेपालमा मिलिजुली सरकारको प्रारम्भ गर्ने राजनीतिज्ञ नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा हुन । देउवाले नेपाल कम्युनिष्ट पार्टीे (एमाले) ले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनाएको अल्पमतको सरकारलाई हटाएर राष्ट्रिय प्रजातन्त्र पार्टीसंगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाएका थिए ।

नेपालमा मिलिजुली होस वा एकल, सरकारहरुको स्थायित्व सँधै अलमलमा परेको छ । यो मामिलामा कुनैपनि दलका नेतामा राजनीतिक स्पष्टता देखिदैन । दलका नेताहरुले आफ्नै स्वार्थपूर्तिका लागि सरकारमा सहभागी हुने उद्देश्य बनाएका छन । लोकहितको त अत्तोपत्तो छैन ।

मिलिजुली सरकार कमजोर हुन्छ भन्ने राजनीतिक धारणाले जरो गाडेको छ नेपालको राजनीतिमा । प्रचण्ड कामरेड आफैले माओवादी पार्टीलाई एमालेमा घुलित गराउँदा जुन प्रकारको अपमानको भार बोक्नु पर्यो त्यो नितान्त अराजनीतिक घटना थियो । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले संविधान र संवैधानिक प्रक्रिया माथि गरेको ब्यभिचारले सबैलाई दुःखित तुल्यायो । ओलीको त्यो कामले नेपालको लोकतान्त्रिक प्रक्रियालाई अस्तब्यस्त तुल्यायो ।

नेपाली राजनीतिको अर्को समस्या निर्वाचित जनप्रतिनिधि र कर्मचारी वर्गको टकराहटबाट शुरु हुन्छ । नेपालका उच्चस्तरीय कर्मचारीहरु अति जान्नेसुन्ने वर्गमा पर्दछन । उनीहरु कसैको पनि चाकरी गर्न र कसैलाई पनि हेप्न खप्पीस हुन्छन । सुकिला–मुकिला कर्मचारीसंग भयग्रस्त छन नेपाली जनता । ती कर्मचारीका अगाडि बोल्नसम्म नसक्ने जन–प्रतिनिधि थुप्रै छन । लोकतन्त्रमा जनता मालिक हुन्छन । तर, दाता कर्मचारी हुन्छन । परापूर्वकालमा राजाको शासनकाल शुरु भएदेखि नै दरबार रिझाएर जनता कजाउने प्रबृत्ति बिकसित भएको हो कर्मचारीहरुमा । अधिकांश कर्मचारीहरु दरवारिया भारदारका हाँगा–बिंगा भएकाले पनि उनीहरु टुप्पोबाट पल्हाएका जस्ता देखिन्छन । अतीतका कुनै सरदार वा सुवेदारको बंशमा आपूmलाई झुण्ड्याएर ‘धाक’ जमाउने कर्मचारीको संख्या अहिले पनि घटेको छैन । कर्मचारीतन्त्र जुवाको खाल बनेकोछ । यो संस्थाकापूर्ववर्ती हाकिमहरुको पतन क्रमशः कसरी हुँदै आएको छ त्यो त जगजाहेर नै छ ।

जे भएपनि अहिले प्रचण्ड कामरेडमा जोशको कमी छैन । उहाँ नेपालका सरकार प्रमुखहरु भन्दा अलिकति अलग हुन खोज्नु भएको होला । तर, देशको आर्थिक अवस्था सरकारले अवलोकन गरेको भन्दा र जनताले सोचेको भन्दा कठिन र जटिल छ । २००७ सालका अन्तरी मप्रधानमन्त्री मोहनशमशेरदेखि अहिलेका सर्व शक्तिमान प्रधानमन्त्री प्रचण्ड कामरेडसम्म –सबै सरकार प्रमुखहरुले देश बिकासको कुरा गरेका छन । तर, बिकासका राजनीतिक आयामहरुकाबारे कसैले सोचेका छैनन । नेपालका राजनीतिक दलहरुमा राजनीतिक चेतनाको अभाव छ । यो कुरा प्रचण्ड कामरेडले बुझनु भएको छ होला ।

प्रचण्डले शासनमा चमत्कारिक सुधारको ढोका खोल्ने सूत्रहरुका बारे सार्वजनिक छलफल चलाउनु पर्दछ । बिचारलाई जति चलायमान बनाउन सक्यो देश पनि त्यति नै चलायमान हुन्छ । जनताको सरकार चलाउनेले जनतालाई निमुखा ठान्न मिल्दैन ।

बीपी कोइरालाले आफनो डायरीमा लेख्नु भएको छ ः काठमाडौंको स्मरण शक्ति निकै कमजोर छ । यहाँका मान्छेहरु नेपोलियनको समयका पेरिसवासी जस्तै छन जो प्रतिदिन कुनै न कुनै चमत्कारको अपेक्षा गर्दछन । प्रचण्ड कामरेडले काठमाडौंको कुरा बुझनु भएकै होला । (साभार : उकेरा डटकम)