त्रिचन्द्रको जथाभावी पुर्नर्निमाण गर्नु गलत - रुपान्तरण
 २०८१ जेठ ११, शुक्रबार    

त्रिचन्द्रको जथाभावी पुर्नर्निमाण गर्नु गलत


-केदारभक्त माथेमा

सबैले देखिरहेका छौं त्रिचन्द्र क्याम्पसका ऐतिहासिक संरचनाहरु जीर्ण बन्दै गइरहेका छन् । भत्किएका छन अनि भग्नावशेष अवस्थामा पुगेका छन् । त्यसैले क्याम्पसको अस्तित्व जोगाउन पर्छ भन्नेमा मेरो पनि साथ छ । तर नेपालको अवस्था देखेर दिक्क लाग्छ । भवन बनाउने सवालमा हाम्रा ठेक्केदार र सरोकारवाला निकायको भूमिका पारदर्शी देखिदैन । सबै काम सेटिङमा चल्छ भन्ने लाग्छ । जे मन लाग्यो त्यस्तै भवन ठड्याइएको पाइन्छ । नेपालमा राम्रा आर्किटेकरहरु पनि छन । उनीहरुबाट सहयोग लिएको पाइँदैन ।

प्रमुख कुरा त त्रिचन्द्र कलेज जोगाउने हो भने कलेजको सबै जग्गा नापजोख गर्नुपर्छ । एउटा विज्ञहरुको समूह राखेर जग्गा नाप्नै पर्छ । त्यसपछि भवन कहाँ बनाउने, क्लासरुमहरु कता राख्ने भन्ने निक्र्यौल हुनुपर्छ । यसका लागि मास्टर प्लान तयार गर्नुपर्छ । हाम्रो ध्यान भनेको पुरानो सम्पदा जस्तो छ त्यस्तै हुनुपर्छ भन्ने हो । सम्पदा नबिग्रिनेगरी भवनहरु बनाउनुपर्छ । त्रिचन्द्र कलेज भनेको त एउटा प्रिमियर कलेज हो । पहिलो कलेज हो । त्यहाँ त पुष्कर शम्सेर, यदुनाथ खनाल, ऋषिकेश साहलगायतले पढाएको कलेज हो । यतिमात्र होइन यो कलेज त भब्य अर्वन कलेजका रुपमा विकसित गर्न योग्य छ । म टियुमा बसिरहेको भए त्रिचन्द्रले आफैं मास्टर डिग्री प्रदान गर्नसक्ने कलेजका रुपमा खडा हुने थियो । कलेजले आफैं कोर्ष बनाउथ्यो । त्यो हिसाबले विकसित गर्न सकिने कलेज हो । यसलाई सितिमिती कलेज मान्नु हुँदैन । यो ल्यान्डमार्क लोकेशनमा छ । विदेशीको आँखामा पर्छ ।

हुनत त्रिचन्द्र केन्द्रीय विश्वविद्यालय किर्तिपुरजस्तो विशाल त होइन । अर्बन क्याम्पस चाहीं हो । धेरै व्यस्त राख्न सकिने क्याम्पस हो । यसलाई मास्टर डिग्री र पिएचडीका विद्यार्थी उत्पादन गर्न सकिने शैक्षिक थलोका रुपमा विकास गर्न सकिन्छ । यसका लागि धेरै चिन्तन मनन्का साथ मास्टर प्लान तयार गर्नुपर्छ । धेरै ठूलो कुरा चाहीं नसोचौं त्रिचन्द्रलाई एकेडेमिक हबका रुपमा विकसित गर्न सकिन्छ । विहान, दिउसो, साँझसम्म ब्यस्त राख्न सकिने हबका रुपमा अघि बढाउनुपर्छ । सेमिनार, छलफल, अध्ययन अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्न सकिन्छ । त्यहाँ भएका सुविधाहरु उपयोग गर्न सकिन्छ । सरस्वती सदनलाई कसरी प्रयोग गर्ने, लाइब्रेरी कसरी संचालन गर्ने भन्ने बारेमा योजना बनाउनुपर्छ ।

सन् १९६७ तिर म त्रिचन्द्रमा पढाउँथे । फ्रान्सको क्रान्तिका बारेमा पढाउँथे । मैंले पढाउँदा अन्य क्लासका विद्यार्थी पनि सुन्न आउँथे । २१–२२ बर्षको थिएँ । विद्यार्थी पनि उही उमेरका थिए । त्यसको ५५ बर्षपछि म त्रिचन्द्रको त्यही कक्षा कोठामा पुग्दा माकुराको जालो लागेको, लेउ लागेको र फोहोर देखें । ज्यादै दुःख लाग्यो । हामीले यसको संरक्षण गर्न किन सकेनौं होला भनेर सोचिरहें । सरकारी र निजी कलेजबीच तुलना गरें । यसका लागि आफ्नो अपनत्व हुनु जरुरी हुने रहेछ । त्रिचन्द्र जस्ता कलेजका लागि बोर्ड अफ टष्ट्रीको अवधारणामा चलाउन जरुरी देखिएको छ ।

मास्टर प्लान बनाउँदा नयाँ भवनहरुको डिजाइन सोही अनुसारको हुनुपर्छ । यसका लागि प्राध्यापक, विज्ञ र विद्यार्थीहरुसँग परामर्श गरिनुपर्छ । अहिले त्रिचन्द्रको पुनःनिर्माण हुँदैछ भन्ने सुनेको छु । शिक्षा मन्त्रालय अन्तर्गत बन्दैछ भन्ने सुनेको छु । यो गलत भइरहेको छ । जथाभावी बनाउनु राम्रो भएन । यसलाई बनाउनुअघि छलफल भएको छ वा छैन, ग्रान्ड तयार छ या छैन भन्ने कुरा प्रमुख हुन आउँछ । अर्बन ठाउँमा भएको यस्तो कलेजलाई प्लान राम्रो हुनुपर्छ । वातावरण नबिग्रिने गरी भवन बनाइनुपर्छ । क्याम्पसका जग्गाहरुलाई व्यापारिक प्रयोजनलाई दिए पनि त्यसबाट आउने आम्दानी क्याम्पसको शैक्षिक र संरचनागत सुधारमा लगाउनुपर्छ ।

त्रिचन्द्रको सवालमा सम्पदाहरु जस्तातस्तै राख्नुपर्छ । हार्बट, स्टान्टफर्ट, प्रिस्टन जस्ता विश्वविद्यालयको संरचना वा प्लान हेरेर सिक्नुपर्छ । सोही अनुसारको सपना बोकेर हिड्नुपर्छ । त्रिचन्द्रको जग्गा भनेको कीर्तिपुरको जस्तो नभएकाले सोही अनुसारको प्लान तयार गर्नुपर्छ । वायो साइन्स कम्प्लेस, जियो साइन्स कम्प्लेस, सोसल साइन्स कम्प्लेस जस्ता कम्प्लेक्सहरु बनाउनेगरी प्लान गर्नुपर्छ । हुनत नेपालका नेता र सरकारको कार्यशैलीले मास्टर प्लानहरु फेल हुने गरेका छन् । नेताहरुको सोच, चरित्र र सरकारको कार्यविधीमा धेरै सुधार गर्नुपर्छ । हामीले भिजन राम्रो बनाउनुपर्छ ।

सरकारी विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दो गतिमा जानुको प्रमुख कारण सरकारको भिजन, सोच र कार्यशैली प्रमुख हो । यि सबै विषयमा सुधार जरुरी छ । त्रिचन्द्रका सवालमा मृगेद्रराज पाण्डे, डा. मधु घिमिरे, किशोर नेपाल, प्रकाशचन्द्र लोहनी, बसन्त लोहनीलगायतका व्यक्तिहरु सक्रिय हुनुहुन्छ उहाँको कदममा हैसे थप्ने काममा म पनि छु । त्यसैले त्रिचन्द्र जोगाउन हामी सबै सक्रिय हुनुपर्छ । यो ऐतिहासिक, ल्यान्डमार्क र प्रिमियर क्याम्पस जोगाउन सबै जागरुक हुनुपर्छ । क्याम्पसका प्राध्यापक, विद्यार्थी, नागरिक समाजका व्यक्तिहरुको सुझाव सुनेर अघि बढ्नुपर्छ ।(युवराज गौतमले डा.माथेमासँग गर्नुभएको कुराकानीमा आधारित)