नेपाल पत्रकार महासंघको अध्यक्षमा पोख्रेल तीन हजार बढी मतले विजयी - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

नेपाल पत्रकार महासंघको अध्यक्षमा पोख्रेल तीन हजार बढी मतले विजयी


काठमाडौं। नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्याशी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार पोख्रेलले छ हजार ९ सय ४२ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९ सय १५ मत प्राप्त गरेकी छिन्।

अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले एक सय ५६ मत प्राप्त गरेका छन्। यही चैत २५ गते पहिलो पटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो। पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन्।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन्।

खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । उनले शाहीमान राईलाई हराए ।

सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल समूहका हुन् ।

यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । उनले द्वारिकाप्रसाद काफ्लेलाई पराजित गरे । लेखा समिति सदस्यमा छविलाल तिवारी विजयी भए । प्रत्यक्ष मतदान प्रणाली अनुसार महासंघले चैत्र २५ गते देशभर निर्वाचन गराएको हो । मतदानमा करिब १३ हजार पत्रकार सहभागी भए ।