विदेशी मुद्राको सञ्चिति झण्डै १५ खर्ब - रुपान्तरण
 २०८१ जेठ ३, बिहीबार    

विदेशी मुद्राको सञ्चिति झण्डै १५ खर्ब


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्ट अनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत रहेको छ । यस्तै,आयात १६ प्रतिशत,निर्यात २२ दशमलव ७ प्रतिशत र कुल वस्तु व्यापार घाटा १५ दशमलव २ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार जेठ मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।

यसैगरी,विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२ दशमलव ७ प्रतिशतले अर्थात् अमेरिकी डलरमा १३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा मुलुकको विदेशी मुद्राको सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति २१ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको थियो । आर्थिक वर्ष २०७९/८० को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ महिनाको वस्तु आयात र ९ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको बैंकले जनाएको छ ।

२०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन,कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७ दशमलव ५ प्रतिशत,८० दशमलव ३ प्रतिशत र २५ दशमलव ० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४ दशमलव ६ प्रतिशत, ५ दशमलव ८ प्रतिशत र २२ दशमलव १ प्रतिशत रहेका थिए । यसैगरी,संघीय सरकारको खर्च १,१७६ अर्ब ७ करोड र राजस्व परिचालन ८३६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८ दशमलव ८ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव २ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।