लम्पीस्किनको रोकथाम गर्न सांसदको दबाब, सभामुखको रुलिङ - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

लम्पीस्किनको रोकथाम गर्न सांसदको दबाब, सभामुखको रुलिङ


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेपछि सभामुख घिमिरेले उक्त रोगकाबारे सरकारले गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका हुन् ।

बैठकमा सांसदहरुले पशु चौपायामा लम्पीस्किन रोग भयाबह बन्दै गएको र किसानहरुलाई ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुले सो रोग नियन्त्रणका लागि गाउँ–गाउँमा प्राविधिक पठाउनुका साथै खोपको प्रबन्ध गर्न माग गरेका थिए ।

काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले लम्की स्किन रोग नियन्त्रणका लागि पाँच ओटा सुझाव दिएका थिए । पशु स्वास्थ्य आपतकाल महसुस गरेर सम्बन्धित सम्पूर्ण निकायलाई यसविरुद्ध सम्पूर्ण रुपमा केन्द्रित गर्न, आवश्यक बजेट अविलम्ब प्रवन्ध गर्न, पर्याप्त खोप आयात गर्न, गाउँगाउँमा पशु चिकित्सक र प्राविधिक परिचालन गर्न र चौपाया मृत्युले नोक्सानी व्यहोरेका किसानलाई राहतको योजना ल्याउन उनले पाँच बुँदामा सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै एमालेका प्रमुख सचेतक पदम गिरीले पशुचौपायामा संक्रामक ढंगले फैलिइरहेको लम्पी स्किनप्रति सरकार उदासीन रहेको बताए । बैठकमा बोल्दै उनले ८ लाख पशुचौपायामा फैलिएको र २७ हजार पशुचौपाया मरिसक्दा पनि सरकारले रोकथामका लागि पहल गर्न नसकेको बताएका हुन्।

‘रोपाइँको बेला छ। गोरूहरू बिरामी भएकाले खेत बाँझै छ। ४ महिनायता फैलिएको लम्पी स्किनले किसानहरू रोइरहेका छन्। पीडाको आहालमा छन्,’ उनले भने, ‘बेलैमा रोकथाम नगर्ने हो भने २५ लाख पशुचौपाया संक्रमित हुने र १ लाख पशु मर्ने विज्ञहरूले बताइरहेका छन्।’ उनले सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको र खोपको परिमाण अपर्याप्त रहेको बताए। त्यस्तै, उनले खोप लगाउने कार्य सुस्त भएको पनि बताए।