नयाँ विधेयकप्रति असन्तुष्टी - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

नयाँ विधेयकप्रति असन्तुष्टी


काठमाडौं । मिटरब्याज पीडितहरूले सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्टी जनाएका छन् । मिटरब्याज तथा ठगी विरुद्धको किसान-मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पति छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।

समितिले नयाँ कानुनले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको हो । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एकपक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्टी जनाए । उनले साहुमहाजनसँग भएका कागजपत्रको छानबिन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने बताए ।

संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शनसहित संसद भवन घेराउ गरेको थियो । सहभागीहरले नयाँ विधेयक मिटरब्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् । आइतबार मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भइसकेको छ ।