लाओस राईको ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’को लोकार्पण - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

लाओस राईको ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’को लोकार्पण


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लाओस राईको ‘सायरेम्मा–राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ नामक पुस्तक लोकार्पण भएको छ । बिहीबार ललितपुरमा गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजित लोकार्पण समारोहमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला, गुरु घिमिरे, लालबाबु यादवलगायतका नेताहरुद्वारा लोकार्पण गरिएको हो ।

पूर्वमन्त्री भीमसेनदास प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथिहरुले पछिल्लो समय सबै दल र नेताहरुमा राष्ट्रवाद र राष्ट्रियता हराउँदै गएकोप्रति चिन्ता प्रकट गर्दै राष्ट्रवादका विषयमा सबै एक हुनुपर्ने बताए ।

२३६ पेजमा समेटिएको पुस्तकमा राष्ट्रवाद र राष्ट्रप्रेमको विकासक्रम, विश्वमा भएका आन्दोलन, नेपालमा शाह बंशीय राष्ट्रवाद, २००७ साल पछिको विकसित राष्ट्रवाद, वीपी कोइरालाको राष्ट्रवादी चिन्तन साथै पछिल्लो राजनीति परिदृश्यमा देखिएको राष्ट्रवाद र राष्ट्रप्रेमको प्रसंग उल्लेख छ । साथै पुस्तकमा किरात संस्कृतिमा रहेको सायरेम्मा संस्कारलाई राष्ट्रवादसँग जोडिएको छ । पुस्तकको सम्पादन पत्रकार युवराज गौतमले गरेका हुन । 

लोकार्पण समारोहमा बोल्ने बक्ताहरुले पुस्तकले राष्ट्रवाद के हो र यसको महत्व कसरी बढ्दै गयो भन्ने विषयमा सरल ढंगले प्रस्तुत गरेको बताउँदै पुस्तक राजनीतिज्ञ र विद्यार्थी वर्गका लागि पाठशाला हुने बताए ।