एकसय किलो सुन तस्करीले ल्याएको हलचल - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

एकसय किलो सुन तस्करीले ल्याएको हलचल


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा गत बुधबार बरामद भएको झण्डै एकसय किलो सुन प्रकरणमा हालसम्म १० जना वक्राउ परेका छन् । सो प्रकरणमा राजश्व अनुसन्धान विभागले अनुसन्धान तीब्र बनाएसँगै १० जना पक्राउ परेका हुन् ।

विभागबाट खटिएको टोलीले अहिलेसम्म एक चिनियाँ र एक भारतीयसहित दश जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक चि क्वाङ लिङ र तिब्बती मूलका भारतीय नागरिक थिप्तेन छिरिङ रहेका छन् । पक्राउ परेका नेपालीहरुमा दोलखाका रामकुमार भुजेल र दीलिप भुजेल, भोजपुरका हर्कराज राई, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट र भन्सार एजेन्ट राजेन्द्र राई रहेका छन् ।

पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ भने बुधबार पक्राउ परेका ६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न पाटन उच्च अदालतबाट अनुमति पनि लिइएको छ । राजश्व अनुसन्धान विभागले पक्राउ परेका चिनियाँले भाडामा लिएको बालुवाटारस्थित फ्ल्याटमा पनि छापा मारेको छ । उनको कोठामा ठूल्ठूला बाकस भेटिएको र तिनमा शील गरेर अनुसन्धान अघि बढाइएको विभागका कर्मचारीहरुले बताएका छन् । यस्तै पक्राउ परेका भारतीय नागरिक थाप्तेन छिरिङले भाडामा लिएको पानीपोखरीस्थित फ्ल्याटमा पनि राजश्वले बिहिबार छापा मारेको थियो । यसैबीच, भन्सार विभागले सय किलो सुन विमानस्थल भन्सारबाट पास भएको विषयमा छानविन गर्न समिति बनाएको छ ।

विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो । यो छानविन समितिले भन्सारका कर्मचारीहरुबाट भएको गल्तीबारे छानविन गर्ने बताइएको छ । भन्सार विभागले जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरेको छ । भन्सार अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले उक्त सुनको जाँच पास गरेका थिए । सो परिमाणको सुन गत मंगलबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट नेपाल भित्र्याइएको थियो ।

तर यता, विमानस्थल भन्सार कार्यालयमा रहेको सुन हेर्ने एक्सरे मेसिनले सुन नै देखाउन नसक्ने गरेको बताइएको छ । वर्षौँ पुरानो मेसिन र त्यो पनि बिग्रेको अवस्थामा सञ्चालन गरी डिटेक्टर मेसिन रहेको देखाउनका लागि मात्रै राखिएको बुझिएको छ । ‘विमानस्थलको डिटेक्टर मेसिन नै बिगारेको अवस्थामा पाइएको छ’, स्रोतले भन्यो । सोही मेसिन बिग्रेको अवस्थामा रेडी ट्रेडको नाममा ब्रेक सु र दारी काट्ने मेसिन मात्रै आयात भएको पाइएको छ ।

यता सय केजी सुन तस्करीमा चिनियाँ र भारतीय नागरिकसहितको ठूलै गिरोह सक्रिय रहेको र नेपालमा त्यसको नेतृत्व व्यवसायी दीपक मलहोत्राले गरेको सूचना राजस्व अनुसन्धान विभागले पाएको बताएको छ । अहिले पक्राउ परेकाबाहेक गिरोहका नाइकेहरूमाथि विभागले अनुसन्धान केन्द्रित गरेको छ ।

मलहोत्रा विगतदेखि नै अवैध सुन कारोबारमा जोडिँदै आएका छन् । ०५६ मा संसदीय विशेष समितिले नै उनीसहितका व्यापारी सुन तस्करीमा संलग्न रहेकाले थप छानबिन गरी कारबाही गर्न सिफारिस गरेको थियो । ०७४ मा गृह मन्त्रालयले गठन गरेको विशेष समितिले पनि अवैध सुन कारोबारमा मलहोत्राको संलग्नता रहेको प्रतिवेदन तयार गरेको थियो । पछिल्लोपटक चूडामणि उप्रेती ‘गोरे’को समूहसहितको संलग्नतामा भएको करिब ३८ सय किलो सुन तस्करीमा पनि मलहोत्राको नाम जोडिएको थियो ।

तर उनले सुन तस्करीमा आफ्नो संलग्नता नभएको पुष्टी गरेका छन् । ‘मैले गलत गरेको छु भने समाचार लेख्दा समस्या छैन । तर, नभएको कुरा समाचार लेख्दा प्रतिष्ठामा आँच आउने देखेर स्पष्ट गर्न लागेको हुँ । म काममा विश्वास गर्छु । बिहानदेखि साँझसम्म काममै व्यस्त हुन्छु । कुनै आपराधिक घटनामा संलग्न छैन । गलत गरेको भए डराउने हो । गलत गरेको छैन, किन डराउनु ? अहिलेको घटना (एक क्विन्टल सुन तस्करी)मा म छु भन्ने कहीँ पुष्टि हुन्छ भने कानुनबमोजिम भोग्नुपर्ने सबै सजाय भोग्न तयार छु । यस किसिमको धन्धामा कहिल्यै संलग्न छैन,’ उनले पत्रकार सम्मेलनमार्फत भनेका छन् ।

यस विषयमा बुझ्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय गएका थिए । श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका पुगेर सोधपुछ गरेको छ ।