सहकार्यको प्रस्ताव लिएर उपेन्द्र र बाबुराम देउवा निवासमा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

सहकार्यको प्रस्ताव लिएर उपेन्द्र र बाबुराम देउवा निवासमा


काठमाडौं। नयाँ सरकार गठनका विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

नयाँ सरकार निर्माणका लागि गठबन्धन बनाउने विषयमा छलफल गर्न भन्दै जसपाका नेताद्धय यादव र भट्टराई मङ्गलवार साँझ चार बजे बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

बुढानिलकन्ठ स्रोतका अनुसार जसपाका नेताहरूसँगको भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ। नयाँ सत्ता समीकरणका विषयमा जसपाभित्र मतभेद रहेकै बेला भट्टराई र यादवले देउवासँग सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

गत शुक्रवार पनि देउवाले माओवादी केन्द्र र जसपाका नेताहरूलाई निवासमा नै बोलाएर नयाँ सरकार गठनका विषयमा छलफल गरेका थिए। सो क्रममा देउवाले जसपाका नेताहरू समक्ष सरकारको नेतृत्व गर्न काँग्रेस तयार रहेको भन्दै सघाउन जसपालाई औपचारिक प्रस्ताव गरेका थिए।

तर काँग्रेसको सो प्रस्तावका विषयमा जसपाले हालसम्म कुनै ठोस जवाफ फर्काइसकेको छैन। जसपा भित्रसमेत सरकार गठनका विषयमा विवाद देखिँदै आएको छ।

जसपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायत वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई नै आफ्ना मागमा समर्थन गर्न लगाएर सरकारमा जाने पक्षमा छन् भने यादव र भट्टराई ओलीलाई सरकारबाट बिदा गरेर काँग्रेस र माओवादी सहितको नयाँ सरकार गठन गरिनु पर्ने पक्षमा उभिँदै आइरहेका छन्। तर, देउवाको प्रस्तावको औपचारिकतालाई भने जसपा र माओवादीका नेताहरूले बुझिसकेका छन्।