प्रधानन्यायाधीशमा श्रेष्ठको नाम, ५० दिनमै कार्कीको विदाइ - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

प्रधानन्यायाधीशमा श्रेष्ठको नाम, ५० दिनमै कार्कीको विदाइ


काठमाडौं । संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

उनले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको पनि बताए ।

उनले भने ‘पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वभर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको छ ।’

साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । सात महिनासम्म कायममुकायम र ५० दिनसम्म पूर्ण प्रधानन्यायाधीश भएर सर्वोच्चको नेतृत्व गरेका कार्कीको कार्यकाल पनि विवादरहित र फलदायी हुन सकेन ।

कानून व्यवसायीहरुको विरोधबीच ५० दिनका लागि प्रधानन्यायाधीश बनेका कार्की शुक्रबारदेखि घरमै आराम गर्नेछन् । नेपालको न्यायिक ईतिहासमा नै थोरै समयको लागि प्रधानन्यायाधीश बनेका कार्कीले कायममुकाय भएर सर्वोच्चको नेतृत्व गर्दा नै प्रभावकारी काम गर्न नसकेको आरोप खेप्नु परेको थियो भने पूर्ण प्रधानन्यायाधीश भएपछि झन् धेरै आलोचित भए ।

न्यायालय सुधारका लागि आफ्नै नेतृत्वमा तयार गरेको प्रतिवेदन प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गर्न सकेनन भने विवादित संवैधानिक नियुक्तिको विषय उनको प्राथमिकतामा नै परेन । दुई वर्षदेखि हुन नसकेको न्यायाधीश नियुक्ति पनि उनले गरेनन् । कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशबाट प्रधानन्यायाधीशमा नियुक्ति गर्न आन्दोलन गरेको बार नेतृत्वले पनि पछिल्लो समय उनको कार्यक्षमतामाथि प्रश्न गरेको छ भने उनकोे कार्यशैलीप्रति असन्तुष्टि पोखेको छ ।