माओवादी केन्द्र बैठक: घेराबन्दीमा प्रचण्ड र महरा - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

माओवादी केन्द्र बैठक: घेराबन्दीमा प्रचण्ड र महरा


काठमाडौं । नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकमा बिभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गर्न केन्द्रिय सदस्यहरुले माग गरेका छन् । केन्द्रिय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरुले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरुमाथि अनुसन्धान गरि दोषि देखिए कारबाही गर्न माग गरेका हुन् ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरुले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन् । पार्टी भित्रका नेताहरुमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरुले पार्टीभित्रैबाट सुशासनप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

बैठकस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै केन्द्रिय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भिर छलफल भइरहेको बताए । उनले नेताहरुको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरुमाथि पनि प्रश्न उठेको बताए । पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउने बित्तिकै पक्राउ गर्ने कानूनी व्यवस्था नभएको भन्दै उनले अनुसन्धानको दायरामा ल्याउनुपर्र्र्नेगरी कुनै उजुरी नआएको बताए । यद्यपी कोही नेताहरुको संलग्नता यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिनुभएकोले सो बचनमा विश्वास गर्नुपर्ने बताए ।

यसैगरी केन्द्रिय सदस्य प्रल्हाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताहरुको संलग्नता पुष्टि भएमा नेताहरुलाई पार्टीले संरक्षण गर्नु जरुरी नभएको बताए । उनले पार्टी बचाउने कि नेता बचाउने भन्ने सवाल उठ्ने भन्दै त्यस्तो अवस्थामा पार्टी बचाउन नेतालाई कारबाही गर्नुपर्ने बताए । उनले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न माओवादी केन्द्रको इज्जत बढेको भन्दै आफ्नै पार्टीका नेताहरु परेपनि कारबाही बाट पछि हट्नु नहुने बताए ।

त्यस्तै, केन्द्रिय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छेहरु परेपनि छोड्नु नहुने बताइन । अनुसन्धानमा दोषि देखिए कारबाही गरेर अघि बढ्नुपर्ने उनले बताइन । उनले उपाध्यक्ष महराको सम्बन्धमा प्रश्न उठेको भन्दै सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेकोमा विश्वास व्यक्त गरिन । सबुत, प्रमाण फेला परेका कसैलाई पनि सरकारले नबचाउने उनले स्पष्ट पारे ।

केन्द्रिय सदस्य रामकुमार शर्माले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न फाइल खोलिसकेपछि पछि हट्नु नहुने बताए । उनले आफ्नो अर्काको मान्छे हेरेर कारबाही गर्ने होइन कि पार्टी भित्रकै मान्छे दोषि देखिए पनि कारबाही गर्नुपर्ने बताए । उनले सुन प्रकरणमा नाम जोडिएका नेताहरुले पनि आफूमाथि छानबिन गर्न बैठकमै माग गरेको जानकारी गराए । सदस्यहरुले देशमा सुशासन कायम गर्न राष्ट्रघाति काम गर्नेहरुलाई कारबाही गर्नैपर्ने धारणा राखे ।

त्यस्तै संसदको अधिवेशन रोकेर माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सरकारको आलोचना, नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको प्रश्न जोडतोडले उठाइएको छ । बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली, सचिवालयमा बसेका व्यक्तिहरुको व्यवहार र पार्टीभित्र मौलाएको सामान्तवादले विचार, शैली र व्यवहारमा रुपान्तरण खोजिरहेको बताएका थिए ।

प्रचण्डले लिखित प्रतिवेदन वितरण नगरेपछि उनीहरुले प्रचण्डको बोलीलाई पार्टीको राजनीतिक प्रतिवेदन मानिरहेका छन् । साउन १७ गते प्रचण्डले वाचन गरेको प्रतिवेदन सम्झिएका आधारमा उनीहरूले धारणा राख्नुपर्दा कतिपयले यस्तो अचाक्ली भएको भन्दै प्रचण्डको आलोचनासमेत गरेका थिए ।

पार्टीले चार पटक निर्वाचनमा भाग लिँदा अघिल्लो पटक भन्दा पछिल्लो पटक झन् खुम्चिएकाले नेतृत्वलाई सचेत बनाउनुपर्छ, भन्दै काठमाडौँमा आएका केन्द्रीय सदस्यहरुले लिखित दस्तावेज पनि पढ्न र हेर्न पाएका छैनन् ।

उनीहरुले अबको केही समयपछि पार्टीमा प्रचण्डको विकल्प खोज्नु पर्ने आवाज पनि उठाएका थिए । ‘सधै नेतृत्वमा प्रचण्ड रहँदैनन् अब विकल्प तयार हुनुपर्छ तर नेताहरु एकमत भएको देख्दैनौँ’, पार्टीका एक केन्द्रीय सदस्यले भने ‘हामीले यो आवाजभित्र पनि उठाएका छौँ तर बाहिर बोल्न अप्ठेरो भैरहेको छ ।’

केन्द्रीय सदस्यहरूबाट पार्टीको पुनर्निर्माणको सम्भावनाबारे प्रचण्डले गरेको संकेतभन्दा विघटनको खतरामा बढी ध्यान दिइएको थियो । ‘पार्टीभित्र रुपान्तरण र पुनर्निर्माणको विषय जोडतोडले उठेको छ’, केन्द्रीय सदस्य युवराज चौलागाईले भने । उनका अनुसार रुपान्तरण भएमा पार्टी निर्माणमा र पुनर्निर्माणमा कार्यकर्ताहरुको जोश जाँगर चल्नेछ ।