ल्यारक्यालको नियुक्तिपछि प्रचण्डमाथि सुशासनको प्रश्न - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

ल्यारक्यालको नियुक्तिपछि प्रचण्डमाथि सुशासनको प्रश्न


काठमाडौं । विवादास्पद पृष्ठभूमि भएका व्यक्ति ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष नियुक्ति गरेपछि आलोचना शुरु भएको छ । दोहोरो नागरिकता, भारतीय रासनकार्ड राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पक्राउ परेका उनी चर्को आलोचना खेपिरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले लामालाई नियुक्ति दिएलगत्तै आलोचना शुरु भएको हो । त्यतिमात्र होइन संसारभरिकै बौद्धमार्गीहरूको आस्थाको केन्द्र लुम्बिनीको बागडोर ल्हारक्याल जस्ता बदनाम पात्रलाई सुम्पिंदा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले कस्तो शुसासन कायम गर्न खोजेका हुन भन्ने प्रश्नपनि तेर्सिएको छ ।

यता, लामाले कोषको उपाध्यक्षमा आफ्नो नियुक्तिपछि केही मिडियाले आफूविरुद्ध चरित्रहत्याको निम्नतस्तरीय तहमा उत्रिएर समाचार टिप्पणी र लान्छानाहरु लगाएको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । लामाले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो नियुक्तीलाई लिएर गरिएका टिकाटिप्पणीप्रति ध्यानाकार्षण भएको जनाएका हुन् । लामाले आफूमाथि लगाइएको सबै अभियोगहरुको अदालतबाटै आफूले सफाई पाएको पनि पटकपटक बताए ।

नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि निराधार र नियोजित प्रचारबाजी नगर्न सञ्चार माध्यामलाई पनि आग्रह गरे । त्यसक्रममा उनले आफूलाई सो कोषको उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार व्यक्त गरे । ‘अघिपछि मैले संविधानसभा सदस्य, व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला तथा अन्तर्राष्ट्रिय फोरमहरूमा मैले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोल्दा तथा लबिङ गर्दा नउठ्ने प्रश्न जब मैले देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता अफवाहहरु फैलाइने गरेका छन्। केही सिमित मिडिया र व्यक्तिहरु यसमा संलग्न छन्, सबै होइन,’उनले भने ।

उनले आफू हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिएर बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचारप्रसारमा आफ्नो जीवन समर्पित गर्नुनै अपराध हो भने आफूले अपराधबाट कहिल्यै सफाइ पाउन नसक्ने बताए । केही मान्छेहरूले लगाएका आरोपहरु राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरुको अनुसन्धानबाट आफूले पटकपटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् भन्दै उनले प्रतिप्रश्न गरे। अदालतले सफाइ दिएपनि केही पेशेवर विरोधीहरूको इजलासले सफाइ नदिएसम्म आफूले अभियुक्त र अपराधी नै भइदिनुपर्ने हो भन्दै उनले अर्को प्रश्न गरे ।

कहिले नागरिकताको प्रश्न उठाएर त कहिले सम्पत्ति शुद्धिकरणको अनि कहिले हातहतियारको त कहिले ठगीको कुरा उठाईएको भन्दै ती सबै आफूविरुद्ध र आफूले अवलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने अदालतबाट पुष्टि भइसकेको उनको स्पष्टोक्ति थियो ।

बुद्धका उपदेशबाट एक इन्च दायाँबायाँ नगरेको र आफ्नो जीवन दर्शन र आफूले आर्जन गरेको शिक्षाले त्यो गर्न नमिल्ने उनले दाबी गरे। उनले आफूमाथि लगाइने नियोजित र निराधारहरु आरोपहरुको खण्डन कामबाटै गर्ने दाबी गरे । उनले भने,‘लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर मेरो लागि गहन जिम्मेवारी हो। जुन दर्शन र सभ्यताको अन्तर्राष्ट्रियकरण गर्न मैले व्यक्तिगत रुपमा भूमिका खेलिरहेको थिएँ अब राज्यको जिम्मेवारीमा रहेर त्यसलाई प्रमाणित गर्नेछु ।’