कांग्रेस सांसद शर्माका पक्षमा खुलेको एमाले - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

कांग्रेस सांसद शर्माका पक्षमा खुलेको एमाले


काठमाडौं । एमाले अध्यक्ष, केपी शर्मा ओलीले, सुन प्रकरणमा आवाज उठाएकैले सांसद सुनिल शर्मालाई सरकारले पक्राउ गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सुन प्रकरणमा सबैको मुख बन्द गराउन कै लागि सुनिल शर्मालाई हत्कडी लगाइएको आरोप लगाएका हुन् । उनले भने ‘सुनिल शर्मा । फेक सर्टिफिकेट हो भने यो दुई दिनमा बनाएको हो नक्कली सर्टफिकेट ? यही दुईदिनमा सरकारको आलोचना गरेपछि अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा गर भनेपछि फेक सर्टिफिकेट बनेको हो ? यसमा कमजोरी देखियो भनेर दुुईदिन बोल्ने वित्तिकै हत्कडी ।

सुनिल शर्मा भागि हाल्छ त छानविन गरे भयो नि त । पहिल्यै हत्कडी । एउटा पत्र एउटा कारिन्दाले पठायो । अर्को ठाउँको कारिन्दाले हत्कडी लगायो, अब सबको मुख बन्द गर्ने । सबको मुख बन्द ।’ उनले एमालले यही गठबन्धन सरकारको पालामा बाईस पटक पास भएको तस्करीको सुन तेइसौं पटकमा समातिएपछि गम्भीर छानबिनको मागगर्दा सरकारले त्यसविरुद्ध बोल्नेलाई समेत तारो बनाएको अध्यक्ष ओलीले आरोप लगाए ।

यसअघि नेकपा एमालेकी सांसद् ज्वालाकुमारी साहले प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै सुन तस्करी काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई तत्काल छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरिन ।

सुन तस्करी काण्डका दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवाज उठाइरहेका नेपाली कांग्रेसका सांसद् शर्मालाई पक्राउ गरेकोमा सांसद् साहले आपत्ति जनाइन । शर्मालाई कुन हिसाबले पक्राउ गरिएको भन्ने कुरा प्रष्ट पार्न उनले सरकारको ध्यानाकर्षण गराइन ।