सदन अवरोध अझै हटेन - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

सदन अवरोध अझै हटेन


काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि पनि अवरुद्ध भएको छ । नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । गत साउन १० गतेदेखि एमालेले जारी राखेको अवरोध अझै पनि नहटेको हो । एमालेले अवैध सुन प्रकरण छानबिनका लागि उच्च स्तरीय समिति बनाउन माग गर्दै आइरहेको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै छानबिन गर्ने अड्डी कसिरहेको छ ।

तर एमालेले उच्च स्तरीय समिति नबनेसम्म संसद अगाडि बढ्न नदिने बताउँदै आएको छ । जसका कारण सोमबारको बैठक पनि २५ मिनेट बसेर स्थगित गएको छ । आज पनि विषयमा प्रवेश नगरी संसद स्थगित गरिएको छ । अबको बैठक भदौ ३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

यसअघिको समयमा बोल्दै पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई किन पक्राउ गरिँदैन अवैध सुन प्रकरणमा भन्दै सांसदहरुले आक्रोश पोखे । विशेष गरी एमालेका सांसदहरु एवं नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

यसरी एमाले निरन्तर संसद अवरुद्धमा उत्रिएको छ । संसद बैठक शुरु भए लगत्तै आफ्ना कुरा राख्ने अनि नाराबाजी गर्ने एमालेको दैनिकी भइरहेको छ । देश बाढी पहिरो र डुबानको चपेटामा परेपनि एमालेले यी विषयमा जनताका कुरा सरकारसमक्ष पुग्नै नदिई संसद अवरोध गर्नु लोकतान्त्रिक र राजनीतिक नभएको भनेर विरोध पनि शुरु भएको छ ।

बाढी, पहिरो र डुबानले नागरिकको जीवन धरासयी बन्दै गएको बेला जनताले चुनेर पठाएका प्रतिनिधिहरुको गतिविधिप्रति आक्रोश पनि उत्तिकै देखिएको छ । सुरु–सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थन पाएर हौसिएको एमालेमाथि यतिबेला यी दुई पार्टीहरुले प्रश्न गर्न थालेका छन् । प्रतिपक्षी बेञ्चबाटै संसद अवरोध गर्न नपाइने र जनताका कुरा राख्न पाउनुपर्ने आवाज उठ्न थालेका छन् ।

विपक्षी वेञ्चमा समेत एक्लिएको एमाले भने संसद अवरोध गरिरहने पक्षमा देखिन्छ । सुन तस्करी प्रकरणको विषयमा उच्च स्तरिय छानविन समितिको माग राख्दै एमालेले संसद अवरोध गरिरहेको छ । photo-gorkhapatraonline.com