एनआरएनए भित्रको विकृति हटाउन र परिवर्तन ल्याउन अध्यक्षमा उम्मेदवारी दिन्छु : विनय अधिकारी - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

एनआरएनए भित्रको विकृति हटाउन र परिवर्तन ल्याउन अध्यक्षमा उम्मेदवारी दिन्छु : विनय अधिकारी


काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को ११औं विश्व सम्मेलनको तयारीसँगै नेतृत्वका आकाक्षीहरु बढेका छन् । अध्यक्ष पदमा आधा दर्जनले आकाक्षा राखेका छन् । हाल एनआरएनको उपमहासचिव रहेका विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी असोज ३० गतेबाट काठमाडौंमा हुने एनआरएनको आगामी अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् । उनले एनआरएनमा भएका विकृति हटाउन र परिवर्तन ल्याउन उम्मेदवारी दिन लागेको बताए । उनले चाँडै उम्मेदवारी घोषणा सभा आयोजना गरी प्रतिबद्धतासमेत सार्वजनिक गर्ने बताए ।

अधिकारीले आगामी अधिवेशनबाट सही नेतृत्व चुन्न पनि आम मतदाता र शुभेच्छुकलाई आह्वान गरेका छन् । विगतको नेतृत्वले व्यक्तिगत इन्ट्रेस्ट राख्दा संघमा धेरै समस्या देखिएको उनको भनाइ छ । संघमा भ्रष्टाचार मौलाएको र परियोजनाहरु पारदर्शी ढंगले संचालन नभएको बताए ।

विगतको नेतृत्वले लाप्राक बस्ती निर्माण र संस्थाको भवन बनाउँदा व्यक्तिगत इन्ट्रेस्ट राखेकोले एनआरएनको लगानीको सही सदुपयोग हुन नसेकेको उनको आरोप छ । ‘हामीले भूकम्पको बेला लाप्राक बस्तीको निर्माण गर्यौं । तर, त्यसको सही सदुपयोग भएन । त्यत्रो रकम खर्च गरेर ५ सय बढी घर बनायौं । अहिले ३५ परिवार पनि त्यहाँ बस्दैनन् । र, बस्न लायकको घर पनि बनेका छैनन् । लगानीको सदुपयोग भएन,’ उनले भने ।

विगतको नेतृत्वको गलत इन्ट्रेस्टकै कारण संस्थाको विल्डिङमा समस्या भएको तथा पर्सनल इन्ट्रेस्टकै लागि किनिएको देखिएको उनको भनाइ छ । त्यसमा उचित छानबिन पनि नभएको उनले बताए । स्वार्थ त्यागेर माथि उठ्नेबित्तिकै त्यहाँ परिवर्तन आउने र आफ्नो व्यक्तिगत फाइदाको लागि कसैले पनि संस्थाको दुरूपयोग गर्न नहुने उनको भनाइ छ ।

विगतको नेतृत्वमा पर्सनल इन्ट्रेस्ट देखिएकाले नेतृत्व परिवर्तनको माग राखेको उनले बताए । उनले भने, ‘एक पटक नयाँलाई भोट दिनुस्, केही परिवर्तन पक्कै आउँछ ।’ लामो समयदेखि एनआरएनमा क्रियाशील रहँदै आएका अधिकारी स्पष्ट वक्ताको रुपमा चिनिन्छन् ।

१५ वर्षदेखि बेलायतमा बसिरहेका अधिकारी नेपालमा दर्जनौं व्यवसायमा आबद्ध छन् । गोरखामा जन्मिएका अधिकारी एमबीए र एमए अध्ययन गरेका छन् । ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष उनी हाल यसका संरक्षक हुन् ।