आरजी इन्टर स्कुल फुटसलमा लर्निङ जोन एकेडेमीको दोहोरो जित - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

आरजी इन्टर स्कुल फुटसलमा लर्निङ जोन एकेडेमीको दोहोरो जित


काठमाडौं । राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले पहिलो दिन दोहोरो जित हात पारेको छ ।

सल्लाघारीस्थित स्कुलको आफ्नै फुटसल कोर्टमा भएको प्रतियोगितामा समूह बी मा रहेको लर्निङ जोनले मोर्डन बोर्डिङ हाइअर सेकेण्डरी स्कुललाई ३-१ ले र काठमाडौं गुरुकुललाई ६-० ले पराजित गरेको हो । दुई जितपछि ६ अंक जोडेर लर्निङ जोन एकेडेमी शीर्ष थानमा छ ।

यस्तै पहिलो दिनकै अन्य खेलमा समूह बी मा प्यारागन पब्लिक स्कुल र काठमाडौं गुरुकुलुले एक एक खेल जितेर्का छन् । प्यारागनले युनाइटेड युनिभर्सल स्कुललाई १-० ले हराउँदा काठमाडौं गुरुकुलले मोर्डन बोर्ड हाइअर सेकेण्डरी स्कुललाई ४-२ ले हरायो ।

काठमाडौं गुरुकुलले ३ खेलमा एक खेल जित्दा प्यारागनले २ खेलमा १ खेल जितेको हो । मोर्डन बोर्डिङ स्कुलले भने तीनवटै खेलमा हार बेहोर्यो । अपराजित लर्निङ जोन ६ अंकसहित शीर्ष स्थानमा रहँदा प्यारागन र काठमाडौं गुरुकुलको समान ४ अंक छ । यस्तै समूह ए अन्तर्गत पहिलो दिन ग्लोबल पब्लिक स्कुल, काव्य स्कुल, अक्षरा स्कुल र रातो बंगला स्कुलले समान एक खेल जितेका छन् ।

ग्लोबल पब्लिक स्कुलले सूर्य विनायक स्कुललाई १-० ले पराजित गर्यो । अर्को खेलमा भने ग्लोबल पब्लिक स्कुल अक्षरा स्कुलसँग २-१ ले पराजित भयो । यस्तै ग्लोबल र काव्यबीचको खेल गोलरहित बराबरीमा सकियो । यसैगरी काव्य स्कुलले सूर्य विनायक स्कुललाई २(१ ले हरायो भने काव्य स्कुल रातो बंगला स्कुलसँग भने २-० ले पराजित भयो ।

पहिलो दिन अपराजित रहेका अक्षरा र रातो बंगलाले भने गोलरहित बराबरी खेले । सूर्य विनायक स्कुल भने दुवै खेलमा पराजित भयो । अपराजित अक्षरा र रातो बंगलासँगै काव्य र ग्लोबल पब्लिक स्कुलको समान ४ अंक छ ।

नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेत र विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरीले बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।