सर्वदलीय बैठकमा एमसीसी सम्झौता र कोरोनाको चर्चा - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

सर्वदलीय बैठकमा एमसीसी सम्झौता र कोरोनाको चर्चा


काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र कोभिड–१९ को विषयले प्राथमिकता पाएको छ ।

बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदबाट चाँडो पास गराउन सरकारलाई आग्रह गरे । कांग्रेसले एमसीसी नरोक्न आग्रह गरेको हो ।

बैठकपछि बरिष्ठ नेता पौडेलले कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको एमसीसी पारित हुनुपर्ने धारणा आफूहरुले राखेको बताए । कांग्रेसले कोभिड संक्रमण बढेको भन्दै नियन्त्रणका लागि लकडाउन बाहेकका विकल्प सोच्न सरकारलाई आग्रह गरेको पौडेलले बताए ।

बैठकमा बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको थियो ।

बैठक पछि परराष्ट्रमन्त्री प्रदी ज्ञवालीले एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्ने बताए ।

बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पद पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ । बैठकमा नेकपा माओवादी केन्द्र भने सहभागी भएन । माओवादी केन्द्रले आफूहरुलाई बैठकबारे खबर नगरिएको बताएको छ ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनी र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र सुनील प्रजापतिलगायत सहभागी थिए ।