सक्रिय राजनीतिका लागि भण्डारीलाई स्वागत - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

सक्रिय राजनीतिका लागि भण्डारीलाई स्वागत


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध नगरिएको प्रष्ट पारेका छन् । एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई आइतबार विराटनगरमा सम्बोधन गर्दै उनले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा सधैं स्वागत हुने बताए । उनले भने,‘उहाँले राजनीति गर्छु भन्दा कसले रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं, आउँछु भन्नुपर्‍यो, उहाँलाई सधैं वेलकम छ ।’

पूर्वा राष्ट्रपति भण्डारीलाई पार्टीका नेताले भेटेका विषयमा अनावश्यक हल्ला चलाइएकोमा आपत्ति जनाउँदै उनले भण्डारी पार्टीको आदरणीय व्यक्तित्व तथा पूर्व उपाध्यक्ष रहेको कुरा भुल्न नहुने बताए । अध्यक्ष ओलीले कोशी प्रदेशमा भएको समस्यालाई हेरेर बस्नेहरुलाई ताली बजाउने मौका दिन नहुने बताए ।

भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भइरहेका बेला यसअघि ओलीले एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर हल्ला चलाएको भन्दै त्यसको खण्डन गरेका थिए । उनले त्यसलाई एमालेभित्र समस्या सिर्जना गर्न खोजिएको दाबी गरे। तर राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी बुढानीलकण्ठ भंगालमा रहेको निजी निवासमा बस्दै आएकी छन्। उनले आफ्नै निवासमा राजनीतिक भेटघाट गर्ने गरेकी छिन्।

उनले पार्टी उपाध्यक्षदेखि लिएर जन वर्गीय सङ्गठनका नेताहरूसँग भेटघाट गरिरहेकी छिन्। एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति भण्डारीसँग भेटेका थिए। त्यसलाई उनी राजनीतिमा पुन सक्रिय हुने सङ्केतको रूपमा हेरिएपछि ओलीले खण्डन गरेका थिए ।

भण्डारीको अभिव्यक्ति र सक्रियताले उनी राजनीतिमा फर्कने अभ्यासको रूपमा देखाइरहेको छ। पूर्व राष्ट्रपतिको रूपमा एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले सक्रिय राजनीतिमा फर्कने ५० प्रतिशत सम्भावना भएको बताएकी थिइन्।