नेताहरुबीच असहमति जेसुकै होस युवाहरु संगठन निर्माण र विचार प्रवद्र्धनमा जुट्नुपर्छ: भेषराज आचार्य - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

नेताहरुबीच असहमति जेसुकै होस युवाहरु संगठन निर्माण र विचार प्रवद्र्धनमा जुट्नुपर्छ: भेषराज आचार्य


काठमाडौं । नेपाली कांग्रेसका नेता भेषराज आचार्यले पार्टीका शिर्ष नेताहरुबीच असहमति वा विवाद जेसुकै भएपनि युवाहरुले संगठन निर्माण र विचार प्रवद्र्धनमा क्रियाशील हुनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा राजनीतिक भविष्य बोकेका युवाहरुले लोकतान्त्रिक समाजवादको प्रवद्र्धन र आफ्नो क्षमता विस्तारमा क्रियाशील हुनुपर्ने बताएका हुन ।

१४औं महाधिवेशनमा इलाम सभापतिका प्रत्यासी एवम महासमिति सदस्य रहेका नेता आचार्यले पार्टीका नेताहरुमा विचारको स्पष्टता नहुँदा नयाँ दलहरुले फाइदा लिइरहेको उल्लेख गर्दै उनले भने,‘हामी कांग्रेसको प्रजातान्त्रिक समाजवादबाट चल्न सकिरहेका छैनौं, विचारको धरातल स्पष्ट छैन । गुट, नाता र पैसाले संगठन चलाउँदा नयाँ दलहरुले फाइदा लिइरहेका छन् । तर अब कांग्रेसको विचार युवाहरुले बचाउन सक्नुपर्छ, संगठन जोगाउनुपर्छ ।’

कार्यक्रममा इलाम जिल्लाबाट प्रतिनिधित्व गर्दै नेपाल तरुण दल र नेविसंघको केन्द्रीय तदर्थ समितिमा मनोनित भएका नेताहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा महासमिति सदस्य प्रेमिका रानामगर, महाधिवेशन प्रतिनिधि राजकुमार कार्की, माधव चम्लागाइ, सन्तोस गुरुङ, संजिव ढकाल, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य प्रकाश भट्टराई, नेपाली कांग्रेस इलाम काठमाडौं सम्पर्क समिति सभापति समिप घिमिरे, नेपाल प्रेस युनियनका उपमहासचिब युवराज गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिमा मनोनित भएका विष्णु (हेम)कार्की, निर्मल राउत, सन्तोष गुरुङ, अम्बिका बाँस्कोटा र जनक तिमल्सिना र नेविसंघमा मनोनित भएका प्रेमिका रानामगर, संजिव ढकाल, ध्रुव राई, प्रकाश तामाङ, अनिल नेपाल, संजोककुमार खड्का, दुर्गा घिमिरेलाई सम्मान प्रकट गरिएको थियो । साथै रानामगर, गुरुङ, ढकाल र तिमल्सिनालाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

नेविसंघ इलाम काठमाडौं सम्पर्क समितिका कार्यवाहक सभापति पुजन चाम्लिङको सभापत्विमा भएको कार्यक्रममा सूर्यमान तामाङले स्वागत मन्तब्य राखेका थिए भने सचिब अनन्तजंग निरौलाले सहजीकरण गरेका थिए । सो अवसरमा एडभान्स इन्जिनियरिङ क्याम्पसको स्ववियू उपसभापतिमा निर्वाचित इलामकै मनोज खड्कालाई पनि सम्मान गरिएको थियो । 

 

"

"